२०८३ साउन २१ गते बिहीबार

बंगलादेशविरूद्दकाे फाइनल भिडन्त आज

बंगलादेशविरूद्दकाे फाइनल भिडन्त आज

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ भदौ १२ गते बुधबार ०९:५२

उमेर समूहको यस प्रतियोगितामा नेपाल अहिलेसम्म बंगलादेशसँग पराजित भएको छैन । त्यही इतिहासलाई कायम राख्ने नेपालको लक्ष्य छ ।

नेपाललाई घरेलु मैदानमा च्याम्पियन बन्ने अवसर

काठमाडाैं ।
घरेलु मैदानमा भइरहेको साफ यू–२० च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यमा रहेको नेपालले आज बंगलादेशसँग फाइनल खेल खेल्दैछ । फाइनल खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो २ः४५ बजे सुरु हुनेछ ।

नेपाल ९ वर्षपछि पहिलो पटक फाइनल खेल्दैछ । पहिलो संस्करणपछि नेपाल पहिलो पटक फाइनल पुगेको हो । च्याम्पियनसिपको छैटौं संस्करणमा आइपुग्दा नेपालले अहिलेसम्म दुई पटक उपाधि जितेको छ ।

सन् २०१५ मा नेपालबाट सुरु भएको साफ यू–१९ मा नेपालले पहिलो संस्करणको फाइनलमा भारतलाई पेनाल्टी सुटआउटमा हराएर उपाधि जितेको थियो ।

यस्तै २०१७ मा भुटानमा भएको साफ यू–१८ मा पनि नेपाल च्याम्पियन बनेको थियो । राउण्ड रोविन लिगका आधारमा भएको उक्त च्याम्पियनसिपमा नेपाल शीर्ष स्थानमा रहेर सिधै च्याम्पियन बनेको थियो ।

७ वर्षपछि नेपाल सामु फेरि च्याम्पियन बन्ने अवसर छ । बंगलादेशले भने अहिलेसम्म उपाधि जित्न सकेको छैन ।

बंगलादेश भने तेस्रो पटक फाइनल खेल्न लागेको हो । यसअघि सन् २०१९ र २०२२ मा बंगलादेश फाइनल पुगेको थियो । तर दुवै पटक भारतसँग फाइनलमा पराजित हुँदै उपविजेतामा सीमित भएको थियो ।

उमेर समूहको यस प्रतियोगितामा नेपाल अहिलेसम्म बंगलादेशसँग पराजित भएको छैन । त्यही इतिहासलाई कायम राख्ने नेपालको लक्ष्य छ ।

जारी संस्करणमा गरी नेपाल र बंगलादेश अहिलेसम्म चार पटक आमने–सामने भएका छन् । जसमा नेपालले बंगलादेशलाई ३ पटक पराजित गरेको छ भने एक खेल बराबरीमा सकिएको छ । सन् २०१५, २०१७ र २०२४ को लिग चरणमा नेपालले बंगलादेशलाई समान २–१ ले पराजित गरेको थियो भने २०२२ मा १–१ को बराबरी भएको थियो ।

अर्को रमाइलो संयोग के छ भने नेपालले यसअघि बंगलादेशलाई लिगमा पराजित गर्दा दुवै संस्करणमा उपाधि जितेको थियो । यस पटक पनि नेपालले लिगमा बंगलादेशलाई पराजित गरिसकेको छ र फाइनल पनि उही टिमसँग परेको छ ।

यस पटक घरेलु दर्शक र मैदानको साथ पाएको नेपाली युवा टोली उपाधि जित्नबाट एक कदम मात्रै टाढा छ । नेपाल सर्वाधिक ३ पटक च्याम्पियन बनेर भारतसँग बराबरी गर्ने लक्ष्यमा छ । उता बंगलादेशको नजर पनि पहिलो उपाधिमा छ ।

नेपाललाई यस पटक घरेलु मैदान र घरेलु समर्थकको साथ छ । जसको फाइदा नेपाललाई हुनेछ ।

नेपालले समूह चरणमा बंगलादेशलाई २–१ ले पराजित गर्दा ससिर तामाङ र निराजन धामीले गोल गरेका थिए ।

प्रकाशित मिति २०८१ भदौ १२ गते बुधबार ०९:५२
हजुरको प्रतिक्रिया