पोखरा ।
पोखराको लामाचौरमा हरेक वर्ष हुने तिज महोत्सव एवं महिला तथा पुरुष आमन्त्रित राष्ट्रिय भलिवल प्रतियोगिता आजबाट सुरु भएको छ ।
प्रतियोगिता अन्तर्गत अहिले सशस्त्र प्रहरीको एपिएफ क्लव र गण्डकी फलिबल क्लबबीच प्रतिश्पर्धा भइरहेको छ ।
महिलाहरूको महान् पर्व हरितालिका तिजको अवसरमा पोखराको लामाचौरस्थित ईन्द्रराज्य लक्ष्मी माविको परिसरमा सञ्चालन भइरहेको महिला राष्ट्रिय भलिबल प्रतियोगिताको ११ औं संस्करणतर्फ अहिले एपिएफ क्लब र गण्डकीका खेल जारी छ भने दोस्रो खेल टिपटप न्यू डायमण्ड यूथ स्पोर्टस क्लबबीच हुँदैछ । दोस्रो दिन भदौ १९ गते न्यू डायमण्ड र गण्डकी तथा दोस्रो खेल एपिएफ र एभरेष्ट क्लवबीच हुनेछ । त्यस्तै तेस्रो दिन एभरेष्ट क्लब र गण्डकी तथा दोस्रो खेल न्यू डायमण्ड र एपिएफ क्लवबीच हुने खेल तालिका छ ।
यता पुरुषतर्फको खेल ट्राभल इन्क्वारी गलकोट र एपिएफ क्लबबीच हुनेछ भने दोस्रो खेल गण्डकीले नेपाल पुलिस क्लबको सामना गर्नेछ ।
प्रतियोगिताको दोस्रो दिन पुलिस क्लब र टिआइजी तथा उद्घाटन खेल गण्डकी र एपिएफ क्लबका बिच हुनेछ । पुरुषतर्फ नै तेस्रो दिनको पहिलो खेल टिआइजी र गण्डकीका बिच हुनेछ भने दुई विभागिग टोली पुलिस र एपिएफ आमने सामने हुनेछन् ।
महिला तथा पुरुष भलिबल प्रतियोगिताको विजेता टोलीले समान १ लाख ५० हजार १ सय ११ रुपैयाँ, दोस्रा हुनेले १ लाख १ सय ११ र तेस्रोले ५० हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछन् ।
समाजले २०५४ सालदेखि नै “मौलिक संस्कृतिको जगेर्ना गरौ” भन्ने मुल नाराका साथ महिला हरुको महान पर्व हरितालिका तिजको अवसरमा तिज महोत्सव संचालन गर्दै आइरहेको छ ।
महोत्सवको अवसरमा राष्ट्रिय भलिबलसहित अन्तर महिला समूह तिज गीत प्रतियोगिता, अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता, औद्योगिक तथा विभिन्न व्यापारिक स्टल, विभिन्न सांस्कृतिक कार्यक्रमको साथमा ख्यातिप्राप्त राष्ट्रिय कलाकारको प्रस्तुती संगै शिक्षा, साहित्य, खेलकुद, युवा उद्यमशीलता विकासका क्षेत्रमा योगदान दिने श्रष्टालाई सम्मान र छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिइने संस्थाका अध्यक्ष स्वागतसिंह भण्डारीले बताए ।
नव आदर्श सामुदायिक समाज स्थापनाको २८औँ वार्षिकोत्सव एवं २६औ संस्करणको लामाचौर तिज महोत्सव तथा आमन्त्रित राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता आज भदौं १८ गतेदेखि २१ गतेसम्म जारी रहने समाजले जनाइएको छ ।
महिला तथा पुरुष आमन्त्रित राष्ट्रिय भलिबल प्रतियोगिताको प्रत्यक्ष प्रशारण पब्लिक फोरके टेलिभिजनले गरिरहेको छ ।
प्रकाशित मिति २०८१ भदौ १८ गते मंगलबार १०:४१




