पोखरा ।
पोखरामा जारी लामाचौर भलिबल कपमा नेपाल पुलिस क्लब एक खेल अगावै फाइनल प्रवेश गरेको छ ।
बुधबार लिग चरणको दोस्रो खेलमा ट्राभल इन्क्वाइरी गलकोटलाई ३–० को सोझो सेटमा पाखा लगाउँदै पुलिस फाइनल यात्रा तय गर्न सफल भएको हो । पुलिसले गलकोटविरुद्ध २५–१२, २५–१७ र २५–२२ को जित निकाल्न सफल भयो । पुलिसको यो लगातार दोस्रो जित हो ।
पुलिसले आफ्नो पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन गण्डकी प्रदेश भलिबल संघलाई ३–० को सोझो सेटमा हराउँदै सुखद सुरुवात गरेको थियो । गत संस्करणमा पुलिस फाइनलमा गण्डकीसँग स्तब्ध हुँदै फर्कनुपरेको थियो ।
बुधबारको अन्मित खेल गण्डकी प्रदेश भलिबल विरुद्ध सशस्त्र प्रहरी बलको एपीएफ क्लबले खेल्नेछ । एपीएफले गण्डकीलाई जितेमा उ पनि फाइनल यात्रा तय गर्न सफल हुनेछ । यदि गण्डकीले जितेमा बिहीबार हुने दुई खेलले कुन टोली पुलिससँग भिडन्त गर्ने तय हुनेछ ।
महिलातर्फ विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्बल र टिपटप न्यु डायमण्ड युथ स्पोर्टस क्बलबीच फाइनल भिडन्त पक्का भएको छ ।
एपीएफ र न्यु डायमण्डले लगातार दुई जीत हासिल गरेसँगै एक खेल अगावै फाइनल यात्रा तय गरेका हुन् । तेस्रो र चौंथो स्थानका लागि गण्डकी भलिबल संघ र एभरेष्ट भलिबल क्लबले प्रतिस्पर्धा गर्नेछन् । यद्यपि लिग चरणको दुई खेल भने बाँकी नै छ । ति खेलको नतिजाले अंक तालिकामा कुनै फरक पार्नेछैन ।
प्रकाशित मिति २०८१ भदौ १९ गते बुधबार ०५:०८




