काठमाण्डौं ।
यूएई सरकारले दुई महिनाका लागि ल्याएको आममाफी कार्यक्रमबाट यूएईमा अवैध रूपमा बसोबास गरिरहेका नेपालीले लाभ लिन सक्ने भएका छन् ।
भिसा अवधि सकिएर अवैध रूपमा बसिरहेका विदेशी श्रमिक र पर्यटकलाई घर फर्किने अवसर दिन यूएईले आममाफी घोषणा गरेको हो ।
भिसा पाएर पनि यूएईको अध्यागमन नियम उल्लंघन गरेकाहरूले पनि आममाफी पाउनेछन् ।
यही सेप्टेम्बर १ अर्थात् गएको १६ गतेदेखि सुरु भएको आममाफी कार्यक्रम आउँदो अक्टोबर ३० अर्थात् कात्तिक १४ गतेसम्म चल्नेछ ।
यो नियम पर्यटन, भिसा सकिएका र कम्पनीबाट भागेका आप्रवासी कामदारको हकमा लागू हुनेछ । तर विना भिसा यूएई प्रवेश गरेका व्यक्तिहरूमा भने यो नियम लागू हुने छैन ।
नेपाली दूतावास अबुधाबीले गैरकानूनी रूपले बसोबास गरिरहेका नेपालीलाई आममाफीको सुविधा लिन अनुरोध गरेको छ ।
प्रक्रिया पूरा गरी नेपाल फर्केको व्यक्ति फेरि यूएई फर्किन चाहे कुनै बाधा नपर्ने पनि दूतावासले जनाएको छ ।

प्रकाशित मिति २०८१ भदौ २१ गते शुक्रबार १०:०६