पोखरा ।
प्रदर्शनको संघारमा रहेको फिल्म ‘खुश्मा’ युनिट यतिबेला प्रचारप्रसारको दौडधुपमा छ ।
असोज ३ गतेदेखि देशभर एकसाथ प्रदर्शनमा आउन लागेको ‘खुश्मा’ का निर्देशक र कलाकारको टोली सोमबार पोखरा आएर फिल्म हेर्ने निम्तो बाँडेका छन् । माओवादी आधारभूमि रुकुमको मगर सुमदायको कथालाई उतारेर बनाइएको फिल्म संविधान दिवसको अवसर पारेर प्रर्दशन हुन लागेको हो । उपसना सिंह ठकुरी र धिरज मगर मुख्य भूमिकामा रहेको फिल्म निर्माणमा कुनै कसुर बाँकी नराखेकाले दर्शकले रुचाउने अपेक्षा गरिएको छ ।
फिल्ममा द्वन्द्वकालको बेलाको प्रेम कथा प्रस्तुत गरेको फिल्मका निर्देशक अशोक थापा मगरले बताए । व्यवसायिकसँगै नेपाली फिल्म उद्योगलाई उकास्न फिल्म बनाएको निर्देशक थापाले बताए । मुख्य भूमिकामा रहेका उपसना र धिरजले फरक चरित्रमा प्रस्तुत भएको बताए । साधारण प्रेमकथालाई उत्कृष्ट ढंगले देखाइएको उनीहरुको भनाइ थिए ।
पुन मगरको उद्गमथलो रुकुमको मैकोटमा फिल्मका अधिकांश दृश्य खिचिएको हो । रुकुमकै तकसेरा, माथिल्लो मनाङ, पोखरा र काठमाडौंमा झन्डै ४५ दिन लगाएर फिल्म खिचिएको छ। फिल्ममा तीन करोड बढी लगानी भएको निर्माण टिमको दाबी छ ।
फिल्ममा धिरज, उपसनासँगै, माओत्से गुरुङ, खड्कबहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, लगायतका कलाकारले अभिनय गरेका छन् ।
एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको फिल्मको लेखन निर्देशक थापाको छ । चन्द्रबहादुर भट्टचन, बेतान मगर र विरबहादुर लामा फिल्मको निर्माता छन् । मानबहादुर धनाह मगर र सुस्मिता बुढाथोकी सहनिर्माता, मोहन राई कार्यकारी निर्माता हुन् ।
फिल्ममा समावेश ‘रुकुम मैकोट’ बोलको गीत युट्युबको म्युजिकतर्फ ट्रेन्डिङ नम्बर एकमा छ । यसअघि नै सार्वजनिक गीत ‘खुशीका फूलहरु’ टिकटकमा निकै रुचाइएको थियो ।



