पोखरा ।
नेपाल क्रिकेट संघ क्यानले विश्वकप लिग टु अन्तर्गत क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको खेलतालिका सार्वजनिक गरेको छ ।
नेपालले क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा घरेलु टोलीसँग खेल्ने भएको छ । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली, नेपाल र ओमान सहभागी हुँदैछन् ।
त्रिकोणात्मक ओडिआई सिरिज भदौ ३१ देखि असोज १० सम्म हुनेछ । सिरिजमा नेपालको पहिलो खेल भदौ ३१ गते क्यानडासँग र दोस्रो खेल असोज २ गते ओमानसँग रहेको छ ।
त्यस्तै तेस्रो खेलमा नेपालले असोज ६ गते क्यानडाको सामना गर्दा असोज ८ गते ओमानविरुद्ध खेल्नेछ । सबै खेल नेपाली समय अनुसार राति पौने ८ बजेबाट सुरु हुनेछन् ।
यता क्रिकेट क्यानडाले गत साता आफ्नो सामाजिक सन्जालमार्फत ओडिआई सिरिज सकिएको २ दिन पछि सोहि टोलीबीचमा टी–२० आई सिरिज हुने बताएको थियो । सो सिरिज असोज १२ देखि १७ गते सम्म हुनेछ ।
टी–२० आई सिरिजको पहिलो खेलमा असोज १२ गते नेपालले घरेलु टोलीको सामना गर्दा दोस्रो खेलमा असोज १३ गते ओमानसँग खेल्नेछ ।
तेस्रो खेलमा नेपालले असोज १५ गते क्यानडासँग र चौथो खेलमा असोज १६ गते ओमानसँग खेल्नेछ ।
त्यसपछि लिग टुको अर्को त्रिकोणात्मक सिरिज खेल्न नेपाली टोली अमेरिका जानेछ ।





