नेपाल पुलिस क्लबले आज उज्वेकिस्तानको हुमो भिस क्लबसँग खेल्ने
पोखरा ।
काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा नेपाल पुलिस क्लबले पहिलो खेलमा आज उज्वेकिस्तानको हुमो भिस क्लबको सामना गर्ने भएको छ ।
माल्दिभ्समा आज सुरु हुने च्याम्पियनसिपमा पुलिस क्लब जितको लक्ष्यसहित मैदान उत्रिन लागेको हो । नेपाल पुलिस र हुमो भिस क्लबबीचको खेल दिउँसो ४ बजेबाट सुरु हुने छ ।
त्यसअघि आजै हुने उद्घाटन खेलमा श्रीलंकको स्लाफ र माल्दिभ्सको वाम्कोबीच प्रतिस्पर्धा हुने सेन्ट्रल एसियन भलिबल एसोसिएसन काभाले जनाएको छ ।
नेपाल पुलिस क्लबले सेप्टेम्बर १६ मा श्रीलंका एयर फोर्स, १७ मा तजाकिस्तानको भिसी डाइमेड, १८ मा माल्दिभ्सको क्लब वाम्को र १९ मा माल्दिभ्स पुलिस क्लबको सामना गर्ने छ ।
पुलिसले यस प्रतियोगिताका लागि मात्रै भनेर विभागीय प्रतिद्वन्द्वी नेपाल एपिएफ
क्लबबाट सरस्वती चौधरी र निरुता ठगुन्ना तथा न्यु डायमन्ड युथ स्पोर्टस क्लबबाट सुमित्रा रेग्मीलाई अनुबन्ध गरेको छ ।
लिग चरणका शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।





