पोखरा ।
काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा विभागीय टोली नेपाल पुलिस क्लबले लगातार चौथो जित हासिल गरेको छ ।
योसंगै नेपाल पुलिस क्लब एक खेल अगावै सेन्ट्रल एसियन भलिबल एसोसिएसन काभा महिला क्लब च्याम्पियसिपको फाइनल प्रवेश गरेको छ ।
बिहीबार नेपाल पुलिसले माल्दिभ्सको क्लब वाम्कोविरुद्ध ३–२ सेटको जित निकाल्यो । पहिलो सेट २१–२५ ले गुमाएको पुलिसले दोस्रो सेट २५–२० ले आफ्नो पक्षमा पर्यो ।
तेस्रो सेटमा २१–२५ ले पछि परेको पुलिसले चौथो सेटमा २५–१८ को जित निकाल्दै खेललाई पाँचौं सेटसम्म लम्ब्यायो ।
पाँचौं तथा निर्णायक सेट १५–१३ ले पक्षमा पार्दै पुलिसले आफ्नो विजयी यात्रा लगातार चौथो खेलसम्म पनि कायम राख्यो । योसँगै चार खेलबाट ११ अंक जोडेको पुलिस माल्दिभ्सको मालेमा जारी प्रतियोगिताको शीर्ष स्थानमा छ ।
यसअघि पुलिसले उज्वेकिस्तानको हुमो भलिबल क्लब, श्रीलंकाको श्रीलंका एयर फोर्स र ताजकिस्तानको डाइमेड भलिबल क्लबलाई समान ३–० को सेटमा पराजित गरेको थियो ।
लिग चरणको अन्तिम खेलमा पुलिसले आज माल्दिभ्स पुलिस क्लबसँग खेल्नेछ । खेल नेपाली समय अनुसार साँझ ५ बजे सुरु हुनेछ ।





