सुशासनका कारण हितैषी सहकारी अब्बल सहकारी बन्न पुग्यो : शेरबहादुर कार्की
पोखरा ।
पोखरा महनगरपालिका -१६ मा रहेको हितैषी बचत तथा ऋण सहकारी संस्थाको सम्पत्ति ३७ करोड ७६ लाख रुपैया पुगेको छ ।
सहकारीले गत आर्थिक बर्षमा मात्र ४ करोड १५ लाख ६२ हजार रुपैया आम्दानी गरेको छ भने उक्त अवधीमा ८० लाख ९९ हजार नाफा गर्न सकेको कोषाध्यक्ष तेजकुमारी गुरुङले जानकारी दिइन् ।
२०६९ कात्र्तिक २ गतेका दिन तत्कालीन अर्मला गाविसमा “हामी सबैको उन्नती हितेषीको सन्तुष्टी” भन्ने नाराका साथ उक्त सहकारी स्थापना भएको थियो ।
सहकारी स्थापना गर्दा १४० जना शेयर सदस्यबाट २५ हजार रुपैयाका दरले ३५ लाख शेयर उठाएर कारोबार शुरु गरिएको थियो ।
कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै गुरुङले सहकारीले २३ करोड ६८ लाख रुपैया ऋण लगानी गरेको र बैंक मौज्दात १२ करोड ४६ लाख रुपैया रहेको जानकारी दिइन् ।
पोखराको बाटुलेचौरमा शनिबार भएको १२ औं साधारण सभामा बोल्दै सहकारीका अध्यक्ष शेरबहादुर कार्कीले आन्तरिक सुशासनका कारण हितैषी सहकारी पोखराका एउटा अब्बल सहकारी बन्न पुगेको बताए ।
अध्यक्षको प्रतिवेदन पेश गर्दै कार्कीले सहकारीले सामाजिक उत्तरदायित्व पुरा गरेको भन्दै सरकारलाई तिर्नुपर्ने सबै प्रकारको कर समयमै तिरेको बताए ।
अहिले नेपालमा विभिन्न सहकारीका संचालक तथा कर्मचारीले गलत काम गर्दा कारबाहीको दायरामा परेको चर्चा गर्दै अध्यक्ष कार्कीले हितैषी सहकारीमा भने निक्षेप बढेको बताए ।
वार्षिक साधारण सभामा संस्थाका सचिव मदन प्रसाद आचार्यले प्रतिवेदन पेश गरेका थिए ।
संस्थाले प्रवाह गरेको ऋण असुली गर्न धितो विक्रीदेखि अदालतमा मुद्धासमेत भोग्नुपरेको भन्दै उनले सहकारी क्षेत्रमा आर्थिक हुरी लाग्दा पनि शतिसाल झैं उभिएर सेवा प्रवाह निरनन्तर जारी राखेको बताए ।
वार्षिक साधारण सभा एवं अधिवेसनका प्रमुख अतिथी पोखरा महानगरपालिका सहकारी समितिका संयोजक रविरमण तिवारीले सहकारीले आप्mनो सिद्धान्त भुल्न नहुने बताए ।
सिद्धान्तमा चलेका सहकारीमा समस्या नदेएिको भन्दै उनले सहकारीका सदस्य आफै चनाखो हुनुपर्ने र सहकारीले धान्न सक्ने भन्दा ठुलो कारोबार गर्न नहुने बताए ।
हितैषी बचत तथा ऋण सहकारी संस्थाको अहिले शेयर पुँजी ३ करोड ३९ लाख छ भने जगेडा कोष २ करोड १३ लाख रुपैया राखिएको छ ।
सहकारीको संस्थागत पुँजी ८ प्रतिशत रहेको पनि साधारण सभामा जानकारी गराइएको छ ।
पोखरा महानगरपालिका वडा नम्बर १, १६, १९ र २० कार्यक्षेत्र रहेको सहकारीमा २ हजार भन्दा बढी शेयर सदस्य आवद्ध छन् ।
सहकारीले आधुनिक सुचना प्रविधिको प्रयोग गर्न मोबाइल बैंकिङ् एपमार्फत बचत र भुक्तानीको व्यवस्था मिलाएको छ ।
सहकारीको एप अहिलेसम्म ४३३ जना सदस्यले संचालन गरेको संस्थाले जनाएको छ ।
प्रकाशित मिति २०८१ असोज ५ गते शनिबार ०५:४३




