२०८३ असोज २३ गते शुक्रबार

‘रेड कर्नर नोटिस’ जारी भएका फरार देवकुमार नेपाली कहाँ छन ?

‘रेड कर्नर नोटिस’ जारी भएका फरार देवकुमार नेपाली कहाँ छन ?

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ असोज ८ गते मंगलबार ११:१३

सहकारी ठगीमा इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नेपालीसहित अन्य सञ्चालकविरुद्ध कास्कीका पाँच सय २४ र बागलुङका एक हजार पाँच सय ४३ बचतकर्ताले उजुरी दिएका छन् ।

करिब दुई अर्ब बचत रकम हिनामिना गरी विगत १६ महिनादेखि फरार

पोखरा ।

सहकारीकाे रकम अपचलनकाे आरोप लागेपछि फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख एवं एमाले नेता देवकुमार नेपालीकाे विगत १६ महिनदेखि कुनै अत्ताेपत्ताे छैन ।

कास्की र बागलुङको इमेज बचत तथा ऋण सहकारी संस्थाको करिब दुई अर्ब बचत रकम हिनामिना गरी विसं २०८० जेठ ५ मा उनी सपरिवार सम्पर्कविहीन भएका नेपालीलाई पक्राउ गर्न नेपाल प्रहरीले गत माघमा ‘रेड कर्नर नोटिस’ जारी गरेपनि उनी अझै पक्राउ पर्न सकेका छैनन् । पक्राउ त परकाे कुरा उनी कहाँ र कस्ताे अवस्थामा छन् ? कुन देशमा हुनसक्छन भन्नेसम्मकाे कुनै सुइँकाे नेपाल प्रहरीसँग छैन् ।

सहकारी ठगीमा अध्यक्ष नेपालीसहित सञ्चालकविरुद्ध कास्कीका पाँच सय २४ र बागलुङका एक हजार पाँच सय ४३ बचतकर्ताले गत वर्ष जेठमै उजुरी दिएका थिए ।

जिल्ला अदालत, बागलुङमा उक्त सहकारीका १३ जना सञ्चालकविरुद्ध मुद्दा चलिरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए ।“अध्यक्ष देवकुमार नेपालीसहित सात जना सञ्चालक अझै फरार हुनुहुन्छ, रेड क्रनर नोटिस नै जारी गरेर उहाँको खोजी भइरहेको छ”, प्रहरी उपरीक्षक कँडेलले भने, “सहकारीका कार्यवहाक अध्यक्ष डोरबहादुर परियारसहित पाँच जना पुर्पक्षका लागि थुनामा हुनुहुन्छ, एक जना धरौटीमा रिहा हुनुभएको छ ।”

सहकारी संस्थाको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय विशेष छानबिन समितिले पनि अध्यक्ष नेपालीलगायत सञ्चालकलाई दोषी ठहर गरी कानुनी कारबाहीका लागि सरकारलाई सिफारिस गरेको छ ।

इमेज बचतकर्ता सङ्घर्ष समितिका अध्यक्ष डिलबहादुर कार्कीले अध्यक्ष नेपालीले आफ्नो व्यक्तिगत सम्पत्ति बेचेर बचतकर्ताको रकम फिर्ता गर्ने जनाउँदै आए पनि विश्वासिलो वातावरण तयार नभएको बताए ।

“उहाँले संसदीय छानबिन समितिलाई पनि बचत फिर्ताका लागि सहजीकरण गरिदिने आशयसहितको बयान हुलाकमार्फत पठाउनुभएको हामीले थाहा पायौँ”, उनले भने, “अहिले पनि उहाँले सरकारले सहज वातावरण बनाएमा आफ्नो तीन अर्ब बराबरको सम्पत्ति बेचेर बचतकर्ताको रकम फिर्ता गर्छु भनिरहनुभएको छ, यसमा सरकारले पनि गम्भीरतापूर्वक लिन जरुरी छ ।”

समितिका अध्यक्ष कार्कीले रकम फिर्ता नभएमा बचतकर्ताको बिचल्ली हुने भन्दै अध्यक्ष नेपालीलाई जतिसक्दो छिटो पैसा फिर्ता गर्न आग्रह गरे ।

“अझै पनि सहकारी सञ्चालकले टार्दै जाने र सरकारले पनि उचित समाधान ननिकाल्ने हो भने सहकारी पीडितहरुको अवस्था जटिल बन्न सक्छ”, उनले भने ।

सहकारीका अध्यक्ष नेपालीले सामाजिक सञ्जालमार्फत आइतबार एक विज्ञप्तिमार्फत मिलापत्र गरी बचतकर्ताको रकम फिर्ता दिन आफू तयार रहेको जनाएका थिए ।

अध्यक्ष नेपालीले बागलुङ, कास्की, काठमाडौँलगायत ठाउँमा रहेको रु तीन अर्ब बराबरको घरजग्गालगायत भौतिक सम्पत्ति बेचेर सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने बताउँदै र्आका छन् ।

उनले बागलुङ सदरमुकाममा मुख्य कार्यालय रहने गरी जिल्लाको गलकोट र बुर्तिबाङमा पनि सहकारीको शाखा खोलेका थिए ।

नेपाली नै अध्यक्ष रहेको सोही नामको सहकारी कास्कीको पोखरामा पनि सञ्चालन हुँदै आएको थियो । दुवै जिल्लाका सयौँ शेयर सदस्य र बचतकर्ताको रकम उक्त सहकारीका सञ्चालकले अपचलन गरेका हुन् ।

प्रकाशित मिति २०८१ असोज ८ गते मंगलबार ११:१३
हजुरको प्रतिक्रिया