पोखरा ।
पोखरा नदिपुरको छन्त्याल समाजघरमा जारी क्लब स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगितामा आज ७ खेल सकिएका छन् ।
पोखरा भलिबल प्रशिक्षण केन्द्रको आठौं वार्षिकोत्सवको अवसरमा आयोजित क्लब स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिताको दोस्रो दिन पुरुषतर्फ ५ खेल र महिलातर्फ २ खेल सकिएका हुन् ।
पुरुषतर्फ भएको पहिलो खेलमा आँधीखोला दिल्लीले गलकोट भलिबल टिमलाई २५–२३ र २५–२० को सेटले पराजित गर्न सफल भयो । दोस्रो खेलमा टिम पर्वतले पोखरा भलिबल प्रशिक्षण केन्द्रलाई २५– २१ र २५– १७ को सेटले पराजित गर्दा तेस्रो खेलमा गलकोट भलिबल टिमले अन्नपूर्ण गाउँपालिकालाई २५–२३ र २७– २५ ले पराजित गर्याे ।
चौथो खेलमा गलकोट स्पोर्टस क्लव बागलुङले नेपाल युथ स्पोर्टस क्लव जापानलाई २५–२१ र २५–२१ ले पराजित गर्दा अन्तिम खेलमा एपीएफ पोखराले आँधीखोला दिल्लीलाई २५–१८ र २५– १५ को सोझो सेटले पराजित गर्न सफल भयो ।
महिलातर्फ नदिपुर एफसीले अर्चलबोट भलिबल टिमलाई २–० को सेटमा पराजित गर्दा कनेक्टिङ पोखराले वाकओभर पायो । नदिपुर एफसीले अर्चलबोटलाई पहिलो सेट २५–२३ र दोस्रो सेट २५–२० ले पराजित गरेको हो । टिम पोखरा खेलमा उपस्थित नभएपछि कनेक्टिङ पोखराले वाकओभर पाएको थियो । शुक्रबार समूह चरणका अन्तिम खेलहरु हुनेछन् । प्रतियोगिताको फाइलन खेल आइतबार हुनेछ ।
प्रकाशित मिति २०८१ असोज १० गते बिहीबार ०६:२६




