काठमाडौं ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले विपद्मा परी घाइते भएकालाई सरकारले निःशुल्क उपचार गरिरहेको बताए ।
बिहीवार राष्ट्रिय ट्रमा सेन्टरमा मनसुनजन्य विपद्बाट घाइते भएका उपचाररत बिरामीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन पुगेका मन्त्री पौडेलले सो कुरा बताएका हुन् । उनले उपचार आवश्यक भएका सबै नागरिकलाई स्वास्थ्य मन्त्रलयले निःशुल्क उपचार उपलब्ध गराइरहेको उल्लेख गरे ।
सरकारी अस्पतालमा विपद्बाट घाइते भएका बिरामीको निःशुल्क उपचार जारी रहेको र विपद्बाट घाइते भइ उपचार नपाएका नागरिकले पनि सरकारी अस्पतालमा पुगेर उपचार गराउन सक्ने मन्त्री पोडेलको तर्क थियो । उनले कतिपय नागरिकलाई सरकारले निःशुल्क उपचार गराएको बारेमा जानकारी नहुनसक्ने भन्दै सञ्चारमाध्यमले सूचना संप्रेषण गरिदिन आग्रह समेत गरे । मन्त्री पोडेलले विपद्बाट भएका जस्तोसुकै जटिल समस्याको पनि उपचार सरकारले निःशुल्क गर्ने दाबी गरे । उनले घाइतेलाई उपचारबाट वञ्चित हुन नदिने प्रतिवद्धता व्यक्त गरे ।
उनले भने, ‘उपचार आवश्यक भएका सबै नागरिकहरुलाई स्वास्थ्य मन्त्रलयले निःशुल्क उपचार उपलब्ध गराएको छ । स्वास्थ्य मन्त्रालयका सबै अस्पतालहरुमा त्यो व्यवस्था गरिएको छ । निजी अस्पतालाहरुलाई पनि विपद्मा परेका, सहायता गर्नुपर्ने सबैलाई उपचारमा सहयोग गर्न अनुरोध गरेका छौँ । उपचार नपाएर समस्यामा पर्ने स्थिति हुँदैन । अहिले पनि कतिलाई जानकारी नभएको हुनसक्छ, म आग्रह गर्न चाहन्छु, विपद्मा परेर घाइते हुनुभएका सबैको उपचार नेपाल सरकारअन्तर्गतका अस्पतालहरुले गर्नेछन् । जस्तोसुकै जटिल समस्यको पनि उपचार हुनेछ । जो बिरामी हुनुहुन्छ, नजिकको स्वास्थ्य संस्थामा आएर उपचार गर्नुहोला । सम्पूर्ण उपचार निःशुल्क हुन्छ । उपचारबाट वञ्चित हुन दिँदैनौँ ।’
मन्त्री पौडेलले विपद् कुनैपनि बेला आउनसक्ने भन्दै जनचेतना अभिवृद्धि गर्न जरुरी रहेको बताए । प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गर्ने काम भइरहेको बताउदै तीन तहकै सरकारसँग समन्वय गरी विभिन्न कार्यक्रम अघि बढाइएको मन्त्री पोडेलले जानकारी दिए ।
प्रकाशित मिति २०८१ असोज १७ गते बिहीबार ०३:०२




