पोखरा ।
एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी आजबाट काठमाडौंमा सुरु हुँदैछ ।
नेपाल रग्बी संघले बिहिबार पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा पुरुषतर्फ १४ र महिलामा ७ टोलीले प्रतिस्पर्धा गर्ने जानकारी दिएको हो ।
दुई दिनसम्म हुने प्रतियोगितामा एसियाका १६ देशको सहभागिता रहेको छ । पुरुषमा सहभागी टोलीलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।
नेपाल रहेको समूह ‘बी’ मा बहराइन र उज्वेकिस्तान छन् । समूह ‘ए’ मा फिलिपिन्स, पाकिस्तान र जोर्डन, समूह सी’ मा काजाकिस्तान, कतार, साउदी अरबिया र श्रीलंका तथा समूह ‘डि’ मा अफगानिस्तान, भारत, बंगलादेश र चाइनिज ताइपेई रहेका छन् ।
महिलातर्फ ७ देशलाई २ समूहमा बाँडिएको छ । समूह ‘ए’ मा नेपालसहित फिलिपिन्स, गुआम र उज्वेकिस्तान तथा समूह ‘बी’ मा भारत, इन्डोनेसिया र श्रीलंका छन् ।
इरानले भने अन्तिम समयमा आन्तरिक कारण देखाउँदै प्रतियोगिताबाट नाम फिर्ता लिएको छ ।
यो प्रतियोगिता २०२५ मा हुने एसिया रग्बी सेभेन्स सिरिजको छनोटका रूपमा समेत रहेको छ ।
सिनियरस्तरको एसियाली रग्बी नेपालमा पहिलोपटक हुन लागेको हो ।
प्रतियोगिताको पहिलो दिन ३० तथा दोस्रो दिन २० गरी जम्मा ५० खेल हुने छन् ।
प्रकाशित मिति २०८१ असोज १८ गते शुक्रबार ०९:४२




