म्याग्दी ।
मौलिक पञ्चेबाजा जोगाउन म्याग्दीको मंगला गाउँपालिकामा पहिलोपटक वडास्तरीय पञ्चेबाजा प्रतियोगिता भएको छ ।
प्रवासमा रहेका म्याग्देलीको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना), अन्तर्राष्ट्रिय कार्यकारी समितिको नवौं वार्षिक साधारण सभाको अवसरमा शुक्रबार पञ्चेबाजा प्रतियोगिता आयोजना गरिएको हो ।
कुनै शुभ कार्य हुँदैछ भन्ने संकेत गर्ने पञ्चेबाजा बिस्तारै लोप हुँदै गएको, साउन्ड सिस्टमबाट गीत घन्काउने र यूवा पुस्तामा समेत आर्कषण घट्दो अवस्थामा रहेकाले संरक्षणमा सघाउन प्रतियोगिताको आयोजना गरिएको मोना साधारणसभाका मुल संयोजक मिम पूर्जाको भनाई छ ।
प्रतियोगितामा मंगला गाउँपालिकाका ५ वडाबाट ५ समुहको सहभागिता भएकोमा प्रथम वडा नं १ कुहुँ, द्धितिय वडा नं २ बावियाचौर, तृतिय वडा नं ४ बरंजा र वडा नं ३ र वडा नं ५ ले सान्त्वना स्थान हात पारेका थिए ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने समूहलाई क्रमशः ३५ हजार, २५ हजार र २० हजार नगदसहित प्रमाणपत्र प्राप्त गर्नेछन् भने अन्य दुई टिमले सहभागी प्रति समुह १० हजार र प्रमाणपत्र प्राप्त गरेका छन् ।
म्याग्दीमा पहिलोपटक पालिकास्तरमा पञ्चेबाजाको आयोजना भएको र यसलाई आगामी दिनमा वडाभित्रका धेरै समुहमार्फत यूवापुस्तामा कला र संस्कृति हस्तान्तरण सहित तालिम समेत सञ्चालन गर्ने योजना रहेको छ ।
पञ्चेबाजामा प्रयोग हुने दमाह, सनै, ट्याम्को, झ्याली र ढोलक बिस्तारै लोप हुँदै गएका छ ।
पञ्चेबाजा हिजोआज विवाह, व्रतबन्ध, पास्नी, लगायतका धार्मिक पर्वहरुमा समेत यसको प्रयोग हुन्छ ।
पञ्चेबाजा बजाउने टोलीलाई भ्याइनभ्याइ हुने अवस्थामा अहिले प्रयोग हुन थालेपछि संरक्षणमा प्रतियोगितामार्फत भूमिका खेलिएको छ ।
प्रकाशित मिति २०८१ असोज १९ गते शनिबार ०९:३८




