पोखरा ।
नेपालीहरुको महान चाड बडादसैंको अवसरमा हङकङमा सांगितिक कार्यक्रम हुने भएको छ ।
दीप समाज हङकङको आयोजनामा “दीप साँझ” हुने भएको हो ।
कार्यक्रममा पोखरेली ब्याण्ड “ओपन सी” र चर्चित गायिका मेलिना राईको प्रस्तुति रहने दीप समाज हङकङका अध्यक्ष गोकुल गुरुङले बताए ।
कार्यक्रममा ब्याण्डबाट गायिका अजुदा थापा, गायक सन्तोष बस्याल र गायिका प्रीया गुरुङले प्रस्तुति राख्नेछन् भने बाध्यबादन तर्फ ड्रमसेटमा सुनिल थापा, तबलामा राजा मुखिया, लिड गितारमा अमित गुरुङ, किबोर्डमा महिपाल लामा र बेस गितारमा अनिल गुरुङको प्रस्तुति रहनेछ ।
हङकङको रिच गार्डन रेष्टुरेण्ट जेडी मल (जोर्डन कोरियन रेष्टुरेण्ट बिल्डिङ) मा १९ अक्टुबर २०२४ मा हुने कार्यक्रम दीप साँझको छैठौं संस्करण हो ।
हङकङको समयानुसार साँझ ७ : ३० बजेबाट सुरु हुने कार्यक्रममा ओपन “सी” ब्याण्डले नेपाली नयाँ पुराना गीत प्रस्तुत गर्नेछ भने गायिका मेलिना राई आफ्ना चर्चित गीतहरु प्रस्तुत गर्ने सचिव अशु रानाले जानकारी गराए ।
संस्कृति संरक्षण गर्ने उद्देश्य स्वरुप हङकङमा रहेका नेपाली मनहरुलाई जोड्ने कार्यक्रम दीप साँझ भएको भनाई उनको छ ।
कार्यक्रमका लागि सम्पूर्ण तयारी भइसकेको उनले बताए । कार्यक्रमलाई सफल पार्न हङकङमा प्रचारप्रसारलाई समेत तीव्र पारिएको छ । कार्यक्रमका लागि अग्रीम टीकट बुकिङ समेत खुल्ला गरिएको छ ।
कार्यक्रम सफल हुनेमा दीप समाज हङकङ विश्वस्त छ । कार्यक्रमका लागि नेपालबाट कलाकारहरु ३० अक्टुबरमा हङकङ प्रस्थान गर्नेछन् ।
प्रकाशित मिति २०८१ असोज २१ गते सोमबार १०:३६




