पोखरा
पूर्वगृहमन्त्री तथा सभापति रवि लामिछाने पक्राउविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पोखरामा प्रदर्शन गर्ने भएको छ । रास्वपाले पोखरा चिप्लेढुंगामा शनिबार बिहान ११ बजे ‘राजनीतिक प्रतिशोधविरुद्धको ऐक्यबद्धताका लागि’ भन्दै विरोध प्रर्दशन गर्न लागेको हो ।
यस्तै काठमाडौं माइतिघर मण्डलमा पनि दिउँसो १ बजे विरोध प्रदर्शन गर्न लागेको रास्वपाले जनाएको छ । शुक्रबार रास्वपाको पार्टी कार्यालय वनस्थलीबाट उनलाई प्रहरीले पक्राउ गरेर पोखरा ल्याइएको थियो ।
जिल्ला अदालत कास्कीले उनीसहित १४ जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । रविविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीले संगठित अपराध र सहकारी ठगीमा मुद्दा चलाउनेछ ।
रास्वपा सभापति लामिछानेमाथि गोर्खा मिडिया नेटवर्कको तत्कालीन प्रबन्ध निर्देशक हुँदा सहकारीको बचत मिडियामा लगेर अपचलन गरेको आरोप लागेको छ । उनलाई संसदीय छानबिन विशेष समितिले समेत सहकारी बचत अपचलन गरेको निष्कर्ष निकाल्दै अनुसन्धान गर्न सिफारिश गरेको थियो ।
पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई हिजो अनुमति दिएसँगै लामिछानेलाई पक्राउ गरेर प्रहरीले पोखरा ल्याएको हो । सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम लगेर अपचलन गरेको मुद्दा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ । लामिछानेले आफू सहकारी प्रकरणमा निर्दोष रहेको दाबी गर्दै आएका छन् ।
प्रकाशित मिति २०८१ कात्तिक ३ गते शनिबार ०९:०४




