पोखरा ।
नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले त्रिदेशीय मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ ।
नेपालले नोभेम्बरको फिफा विन्डोमा ताजिकिस्तान र अफगानिस्तानसँग त्रिदेशीय मैत्रीपूर्ण फुटबल खेल्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
नेपालले आगामी नोभेम्बर १३ देखि १९ अर्थात कात्तिक २८ गतेदेखि मंसिर ४ गतेसम्म हुने फिफा विन्डोमा दुई टोलीसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
एन्फाका अनुसार नेपालले पहिलो खेल नोभेम्बर १३ अर्थात कात्तिक २८ गते ताजिकिस्तानसँग खेल्नेछ ।
यस्तै दोस्रो खेल नोभेम्बर १६ अथार्त मंसिर १ गते अफगानिस्तानसँग खेल्नेछ । सबै खेल ताजिकिस्तानको डुसानवे रंगशालमा हुनेछ ।
यस मैत्रीपूर्ण खेलको लागि एन्फाले नविन न्यौपानेलाई अन्तरिम मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।
उक्त खेलको तयारीका लागि न्यौपानेले ३६ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइसकेका छन् ।
नेपालको प्रारम्भिक टोलीमा गोलकिपरः किरण चेम्मोङ, विशाल सुनार, दीप कार्की, अभिषेक बराल, जियारथ शेख, कृषल मोक्तान छन् ।
त्यस्तै डिफेन्डरः अनन्त तामाङ, छिरिङ लामा, सेमन्त थापा, रोहित चन्द, विमल पाण्डे, निर्मल घिसिङ, सनिश श्रेष्ठ, विवेक चौधरी, रन्दिप पौडेल, एन्जल महर्जन, सविन घिमिरे, अभिषेक वाइबा छन् भने मिडफिल्डरः लकेन लिम्बु, रोहन कार्की, मणी लामा, उत्सव राई, भरत खवास, कुशल देउवा, एरिक विष्ट, आशिष राई, अभिनाश स्याङ्तान, मनिष डाँगी, आयुष घलान, उज्वल राई टिममा छन् ।
त्यसैगरि फरवार्डः जिलेस्पीजंग कार्की, अन्जन विष्ट, सुमित श्रेष्ठ, सञ्जीव विष्ट, समिर तामाङ, निराजन धामी टोलीमा छन् ।
एन्फाले यसअघिका मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसको सम्झौता नथपेपछि मैत्रीपूर्ण खेलका लागि न्यौपानेलाई जिम्मेवारी दिएको हो ।
प्रकाशित मिति २०८१ कात्तिक ८ गते बिहीबार ०८:४४




