पब्लिक फाेरके टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्ने
पोखरा ।
पाेखरामा शुक्रबार सारंगी उत्सव हुने भएकाे छ ।
राष्ट्रिय संगीतकर्मी संघ कास्कीको आयोजनामा यहि कात्तिक ९ गते शुक्रबार साँझ ३ बजे सारंगी उत्सव सुरु हुने आयाेजकले बताएकाे छ । कार्यक्रम पोखरा बुँलौदी स्थित पोखरा इभेन्ट सेन्टरमा हुने संघका अध्यक्ष सुनिल गायकले जानकारी दिए ।
घराना ईभेन्ट्सको सहकार्यमा हुने कार्यक्रमको अन्तिम तयारी सम्पन्न भएकाे गायकले बताए । कार्यक्रमको मुख्य आकर्षणको रुपमा कर्खा ब्यान्डको प्रस्तुति रहनेछ । सो अवसरमा ब्यान्डले झलकमान गन्धर्व, अग्रज संगीतकार पूर्ण नेपाली र धनबहादुर गायकका कालजयी गीत प्रस्तुत गर्नेछ ।
कार्यक्रममा कास्कीका विभिन्न स्थानमा रहेका गन्धर्व पाठशालामा सारंगी सिकिरहेकाहरुको पनि प्रस्तुती रहेनछ ।
कर्खा ब्यान्डको गायकमा सुशान्त गायक र निशान गायक, सारङ्गीमा विशाल गायक, मादलमा कमल गायक गितारमा गौरव बर्देवा र सुमन परियार तथा ड्रममा रोशन यादव छन् । उनीहरूले आफ्नो प्रतिभामार्फत संगीतप्रेमीको सांगीतिक तृष्णा मेट्नेछन् ।
उत्सवमा पोखरास्थित विभिन्न सारंगी पाठशालाका प्रशिक्षार्थीको प्रस्तुतिसमेत रहनेछ । कार्यक्रममा प्रवेश निःशुल्क रहेको अध्यक्ष गायकले जानकारी दिए । कार्यक्रमको पब्लिक फाेरके टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्नेछ ।
प्रकाशित मिति २०८१ कात्तिक ८ गते बिहीबार ०५:०३




