२०८३ असोज २५ गते आइतबार

साफ महिला च्याम्पियनसिप : फाइनलमा पुग्न नेपालले आज भारतसँग खेल्दै

साफ महिला च्याम्पियनसिप : फाइनलमा पुग्न नेपालले आज भारतसँग खेल्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ कात्तिक ११ गते आइतबार ०९:२३

नेपाली महिला टोलीले साफ च्याम्पियनसिपको सेमिफाइनलमा लगातार दोस्रोपल्ट भारतसँग खेल्न लागेको हो । दुई वर्षअघि दशरथ रंगशालामै भएको सेमिफाइनलमा नेपालले भारतलाई १–० ले हराएर फाइनलमा पुगेको थियो ।

पोखरा ।

साफ महिला च्याम्पियनसिपको फाइनलमा पुग्न घरेलु टोली नेपालले आज भारतसँग खेल्दैछ ।

खेल दशरथ रंगशालामा बेलुका साढे ६ बजे शुरु हुनेछ । नेपाली महिला टोलीले साफ च्याम्पियनसिपको सेमिफाइनलमा लगातार दोस्रोपल्ट भारतसँग खेल्न लागेको हो ।

दुई वर्षअघि दशरथ रंगशालामै भएको सेमिफाइनलमा नेपालले भारतलाई १–० ले हराएर फाइनलमा पुगेको थियो ।

साफ च्याम्पियनसिपमा नेपालले भारतलाई हराएको त्यो पहिलो पटक थियो । यसपटक नेपाल र भारत तथा साविकको उपाधि विजेता बंगलादेश र भुटानले सेमिफाइनलमा खेल्न लागेका हुन् ।

बंगलादेश र भुटानले फाइनलमा पुग्न दिउँसो साढे एक बजे दशरथ रंगशालामा खेल्नेछन् । अघिल्लो संस्करणमा बंगलादेशले घरेलु टोली नेपाललाई ३–१ गोलले हराएर उपाधि जितेको थियो ।

नेपाल पहिलो पटक साफ वुमन्स च्याम्पियनसिपको उपाधि जित्ने दाउमा रहेको छ ।

नेपाल उपाधिबाट अब मात्र दुई जित टाढा रहेको छ । समूहचरणमा श्रीलंकालाई हराउँदै नेपाल समूह विजेताको हैसियतमा सेमिफाइनलमा पुगेको हो ।

नेपाल अहिलेसम्म भएको सातै संस्करणको सेमिफाइनलमा पुगेको छ । नेपाल ५ पटकको उपविजेता राष्ट्र हो । ४ पटक फाइनलमा नेपाल भारतसँग र १ पटक बंगलादेशसँग हारेको छ ।

उही चिरप्रतिद्वन्द्वी भारतलाई नेपालले सेमिफाइनलमा प्रतिद्वन्दीको रूपमा पाएको छ ।

प्रकाशित मिति २०८१ कात्तिक ११ गते आइतबार ०९:२३
हजुरको प्रतिक्रिया