२०८३ साउन २१ गते बिहीबार

उपाधि नजिक पुगेर पनि नेपाल फेरि उपविजेतामा सीमित, बंगलादेश बन्यो च्याम्पियन

उपाधि नजिक पुगेर पनि नेपाल फेरि उपविजेतामा सीमित, बंगलादेश बन्यो च्याम्पियन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ कात्तिक १४ गते बुधबार ०८:४८

साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत उपाधि भिडन्तमा नेपालले बंगलादेशसँग हार बेहोरेको छ।

काठमाडौं ।

साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत उपाधि भिडन्तमा नेपालले बंगलादेशसँग हार बेहोरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको फाइनलमा नेपालमाथि बंगलादेशले २-१ गोलको जित निकालेको हो।

यससँगै नेपाल साफको फाइनलमा छैटौं पटक पराजित भयो। नेपालले बंगलादेशसँग २०२२ को संस्करणको फाइनलमा पनि ३-१ गोलको पराजय भोगेको थियो। नेपाल साफको उपाधि भिडन्तमा बंगलादेशसँग दुई पटक र भारतसँग चार पटक पराजित भइसकेको छ।

यस्तै नेपाली महिला टोली अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनलमा पराजित भएको यो १२औं पटक हो। नेपाल १२औं फाइनलमा पराजित हुँदा फेरि पनि उपविजेतामै सीमित बन्यो।

बंगलादेशका लागि ८१ मिनेटमा ऋतु चक्माले गोल गर्दै दोस्रो पटक अग्रता दिलाएकी थिइन्। उनले कर्नर एरियाबाट दोस्रो बार च्याप्दै हानेको प्रहारलाई नेपालकी गोलकिपर तथा कप्तान एन्जिला तुम्बापो सुब्बाले रोक्न सकिनन्।

नेपालका लागि अमिषा कार्कीले ५६ मिनेटमा बराबरी गोल गरिन्। उनले प्रिति राईले सेन्टर एरियाबाट दिएको पासमा उत्कृष्ट गोल गरेकी थिइन्।

५२ मिनेटमा बंगलादेशले अग्रता लिएको थियो। नेपाली डिफेन्डरले क्लियर गर्न नसकेको बलमा बंगलादेशकी मोनिका चक्माले डिबक्स भित्रबाट गोल गरेको थियो।

नेपालले ६१ मिनेटमा अग्रता लिने अवसर खेर फालेको थियो। सावित्रा भण्डारी साम्बाले ६१ मिनेटमा राम्रो रनिङमा डिबक्सबाट सेकेन्डबार च्याप्दै हानेको प्रहार सफल भएन।

खेलको दोस्रो मिनेटमै बंगलादेशले गोल गर्ने सुन्दर अवसर सदुपयोग गर्न सकेन। नेपालकी डिफेन्डर गीता रानाले डिबक्स नजिक मिस पास दिएपछि पाएको बलमा बंगलादेशकी कप्तान सविना खातुनले सशक्त प्रहार गरेकी थिइन्। तर उनको प्रहार बारमा लागेर फर्किएको थियो। त्यसपछि सविनाले गरेको हेडरलाई नेपाली गोलकिपर एन्जिला तुम्बापो सुब्बाले नियन्त्रणमा लिइन्।

खेलको दसौं मिनेटमा नेपालले अग्रता लिने अवसर गुमायो। बंगलादेशकी गोलकिपर रुप्ना चक्मा अघि बढेको अवस्थामा नेपालकी अमिषा कार्कीले डिबक्समा गोल गर्ने अवसर पाइन्। तर उनको प्रहार बारमा लागेर फर्किएको थियो।

त्यसपछि दुवै टोलीले गोलका लागि अवसर सिर्जना गर्ने प्रयास गरे। तर दुवै टोलीले डिबक्समा लगेर प्रहार गर्न असफल भए।

प्रकाशित मिति २०८१ कात्तिक १४ गते बुधबार ०८:४८

हजुरको प्रतिक्रिया