पोखरा
करारका कर्मचारी हटाउने पोखरा महानगरपालिकाको निर्णयको विरोधमा नेकपा एमालेका जनप्रतिनिधिले धर्ना दिएका छन् ।
पोखरा महानगरपालिकाको ३७औं कार्यपालिका बैठकले गरेको निर्णयविरुद्ध एमाले जनप्रतिनिधिले आज बिहान ११ बजेदेखि १२ बजेसम्म महानगरमा धर्ना दिएका हुन् । कात्तिक १५ गते बसेको पोखरा महानगरपालिकाको कार्यपालिका बैठकले करार कर्मचारी हटाउने निर्णय गरेको थियो । उक्त बैठकले एमालेले वहिष्कार गरेको थियो । एउटा पार्टी नै अनुपस्थित भएको कार्यपालिका बैठकको निर्णय मान्य नहुने भन्दै एमालेका जनप्रतिनिधि आन्दोलित भएका हुन् ।
३७ औं कार्यपालिका बैठकले महानगरमै करारमा कार्यरत अन्य कर्मचारीहरूको ६ महिना र १० जना इन्जिनियर तथा १८ जना सबइन्जिनियरको ४ महिना म्याद थप गर्ने निर्णय गरेको थियो । उनीहरुलाई नियमानुसार कात्तिकसम्मको पारिश्रमिक र चाडपर्व खर्चसमेत दिएर बिदाइ गरिने महानगरको तयारी छ । तर, एमालेले भने उक्त निर्णय पार्टीगत भएको भन्दै कार्यान्वयन नगर्न आग्रह गरेको छ ।
पोखरा महानगर–१७ की वडाध्यक्ष एवम् एमाले दलकी नेता राधिका शाही योगीले एउटा पार्टी सहभागी नभएको निर्णय मान्य नहुने बताइन् । उनले मेयर देशबाहिर रहेकाले मेयर आएपछि संवाद गर्ने र त्यसअघि विभिन्न किसिमका विरोध प्रदर्शन गर्ने उल्लेख गरिन् ।
एमालेको धर्नामा झडप भएको हो । एमालेका जनप्रतिनिधि मेयर कार्यकक्षमा प्रवेश गर्न लागेपछि महानगरभित्र नगरप्रहरीसँग धकेलाधकेल भएको थियो । झडपमा नगरप्रहरी सई सन्तबहादुर केसी घाइते भएका छन् । उनको अण्डाकोषमा चोट लागेको नगरप्रहरीले जनाएको छ ।
प्रकाशित मिति २०८१ कात्तिक २० गते मंगलबार ०८:०३




