२०८३ साउन २१ गते बिहीबार

आइसिसी महिला यू–१९ विश्वकप एसिया छनोट : नेपालले आज कुवेतसँग खेल्दै

आइसिसी महिला यू–१९ विश्वकप एसिया छनोट : नेपालले आज कुवेतसँग खेल्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ कात्तिक २२ गते बिहीबार ०८:५३

बुधबार भएको उद्घाटन खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनले पराजित गरेको हो । नेपालले दिएको १ सय ३ रनकोलक्ष्य पछ्याएको थाइल्यान्ड ११ ओभर ४ बलमा ३५ रन बनाउँदा अलआउट भयो ।

पोखरा ।

आइसिसी महिला यू–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपालले आज कुवेतसँग खेल्दैछ ।

संयुक्त अरब इमिरेट्स युएईको सेभेन क्रिकेट रंगशालामा खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ ।

बुधबार भएको उद्घाटन खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनले पराजित गरेको हो ।

नेपालले दिएको १ सय ३ रनकोलक्ष्य पछ्याएको थाइल्यान्ड ११ ओभर ४ बलमा ३५ रन बनाउँदा अलआउट भयो । थाइल्यान्डकी कप्तान अफिसाराले सबैभन्दा धेरै १३ रन बनाइन् ।

नेपालकी रचना चौधरीले ४ विकेट लिइन् । यस्तै कप्तान पूजा महतो र रिया शर्माले समान २ तथा मनिशा उपाध्याय र कृष्मा गुरुङले समान १ विकेट लिए ।

यसअघि यूएईमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय २ रन बनायो ।

नेपालकी कप्तान पूजा महतोले सबैभन्दा धेरै ३५ रन बनाइन् । यस्तै सीमना केसी र सोनी पाख्रिनले समान १९ रन बनाए । थाइल्यान्डकी चरुकन सेमाले २ विकेट लिइन् ।

१९ वर्षमुनिको महिला टी–२० विश्वकप एशिया छनोटमा नेपाल, थाइल्यान्ड, यूएई र कुवेत छन् ।

नेपालले आउँदो शनिबार यूएईसँग, कात्तिक २५ गते थाइल्यान्डसँग, कात्तिक २७ गते कुवेतसँग र अन्तिम खेलमा कात्तिक २८ गते यूएईसँग खेल्नेछ ।

प्रतियोगिताको शीर्ष टोली अर्काे वर्ष मलेसियामा आयोजना हुने विश्वकपमा छनोट हुनेछ ।

प्रकाशित मिति २०८१ कात्तिक २२ गते बिहीबार ०८:५३
हजुरको प्रतिक्रिया