पोखरा ।
आज कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्व । आज साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ्य दिएर मनाईंदै छ ।
भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यस वर्षको छठ पर्व विधिपूर्वक समापन हुन्छ । बर्तालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिन्छन् ।
कात्तिकशुक्ल चतुर्थीदेखि सप्तमीसम्म छठ पर्व मनाउने गरिन्छ । कात्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ ।
दोस्रो दिन कात्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खिर षष्ठी मातालाई चढाई बर्तालुले प्रसादस्वरूप खाने र नुन नखाई एक छाक फलाहार गर्छन् ।
यो पर्वको मुख्य दिन कात्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिने विधि रहेको छ ।
सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिएपछि यो पर्व समापन हुन्छ । छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले परिवारको सुख, कल्याण र समृद्धि हुने विश्वास छ ।
छठमा बाँसका सामग्री, उखु, केरा, सुन्तला, स्याउलगायतको बढी प्रयोग गरिन्छ । मिथिलाञ्चल मूल थलो भएकाहरूले श्रद्धा र निष्ठाका साथ यो पर्व मनाउँछन् ।
छठका लागि तराई, मधेश र काठमाण्डौ उपत्यकाका नदी, तलाउ र जलाशय झकिझकाउ भएका छन् । पछिल्लो समय यो पर्व पहाडमा पनि धुमधामका साथ मनाउन थालिएको छ ।
तराई÷मधेसका समुदायको भनेर मानिने छठ पर्व पहाडी समुदायले पनि मनाउन थालेसँगै सह–संस्कृतिको हिस्सा बन्दै गइरहेको छ ।
छठका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । २०४६ सालदेखि नै सरकारले यो पर्वका अवसरमा देशभर सार्वजनिक बिदा दिने गरेको हो ।
प्रकाशित मिति २०८१ कात्तिक २२ गते बिहीबार ०८:५८




