कुष्ठरोग के हाे ? उपचार कसरी सम्भव छ ?
पोखरा । एक तथ्याङ्कअनुसार कुष्ठरोगको निवारणमा गण्डकी प्रदेश मुलुककै पहिलो स्थानमा देखिएको छ ।
नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्कले आर्थिक वर्ष २०७६/७७ मा उपचारत र नयाँ बिरामी सङ्ख्याको आधारमा गण्डकी प्रदेश कुष्ठरोगको निवारणमा पहिलो देखिएको हो ।
गत आर्थिक वर्षको अन्त्यमा उपचाररत बिरामीको प्रकोप(प्रिमिलेन्स) दर प्रति १० हजार जनसङ्ख्यामा सबैभन्दा बढी प्रदेश नम्बर २ मा ०.८९ रहेको छ भने गण्डकीको ०.४० रहेको छ । त्यस्तै लुम्बिनीमा ०.८३, सुदूरपश्चिममा ०.७८, प्रदेश नं १ मा ०.५९, वाग्मतीमा ०.५७ र कर्णालीमा ०.४७ बिरामीको प्रकोपको सुचाङ्क रहेको छ ।
आर्थिक वर्ष २०७६/७७ को अन्त्यसम्मा आइपुग्दा मुलुकमा कूल उपचाररत सङ्ख्या २०४४ रहेको थियो भने सोही आर्थिक वर्षको अवधिमा एक हजार ८५३ जना कुष्ठरोगका नयाँ बिरामी पत्ता लागेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय क्षयकुष्ठ निरीक्षक लक्ष्मण बसौलाले जानकारी दिए । उनका अनुसार कुष्ठरोगका नयाँ बिरामीमध्ये प्रदेश नं. २८४, २ मा ६००, वाग्मतीमा २०८, गण्डकीमा ९१, लुम्बिनीमा ४७८, कर्णालीमा ५५ र सुदूरपश्चिम प्रदेशमा १३७ जना पत्ता लागेका हुन।
गत आवको तथ्याङ्कअनुसार प्रति १० हजार जनसङ्ख्यामा कुष्ठरोग लागेर उपचाररत बिरामीको प्रकोप (प्रिमिलेन्स) दर एकभन्दा बढी भएकामा ललितपुर, झापा, बाँके, धनुषा, नवलपरासी (पश्चिम) पर्सा, कैलाली, कपिलवस्तु, रुपन्देही र अछाम गरी १० वटा जिल्ला छन् ।
सोही सङ्ख्या र अवधिमा रोगको प्रकोप दर शून्य हुने ११ जिल्ला छन् । यसमा ताप्लेजुङ, सोलुखुम्बु, सङ्खुवासभा, ओखलढुङ्गा, सिन्धुपाल्चोक, रसुवा, मनाङ, पर्वत, रुकुम (पूर्व) हुम्ला र मुगु हुन्। सन् १९९१ मा विश्व स्वास्थ्य सङ्गठनको महासभाले सन् २००० सम्ममा विश्वबाट कुष्ठरोग निवारण गर्ने निर्णय गरेको थियो ।
नेपाल पनि विश्व स्वास्थ्य सङ्गठनको सदस्य राष्ट्र भएको हुँदा सन् २००० सम्ममा कुष्ठरोग निवारण गर्ने लक्ष्य लिई विभिन्न कार्यक्रम सञ्चालन गर्ने नीतिगत निर्णय गरी त्यसअनुरुप अघि बढे पनि विभिन्न कारणवश निवारण गर्ने लक्ष्य सन् २००३, सन् २००५, सन् २००७ र सन् २००८ हुँदै बढ्दै गएकामा सन् २००९ मा नेपालबाट कुष्ठरोग निवारण गर्न नेपाल सरकार सफल भएको हो ।
नेपाल सरकारले २०६६ साल माघ ५ गते (१९ जनवरी २०१०) मा कुष्ठरोग निवारण भएको घोषणा गर्यो। निवारण भन्नाले हाल विद्यमानप्रति १० हजार जनसङ्ख्यामा एकभन्दा कम कुष्ठरोगीको चापमा ल्याई यसलाई जनस्वास्थ्यको समस्याका रुपमा रहन नदिनुलाई बुझिन्छ। तथ्याङ्कले हाल नेपालको प्रिभलेन्स दर ०.६९ रहेको जनाइएको छ ।
के हाे कुष्ठ राेग ?

आँखाले देख्न नसकिने माइक्रोब्याक्टेरियम लेप्रे नामको सुक्ष्म कीटाणुबाट लाग्ने रोग हो कुष्ठरोग। यो एक किसिमको ज्यादै कम सर्ने रोग हो । पन्चानब्बे प्रतिशत मानिसमा कुष्ठरोगको कीटाणुसँग लड्नसक्ने क्षमता हुन्छ । चिकित्सकका अनुसार मानिसबाट मानिसमा सर्ने यो रोग उपचार नगरेको कुष्ठरोगी बिरामीसँग लामो समयसम्म (कम्तीमा हप्तामा २० घण्टाभन्दा बढी समयसम्म) सम्पर्कमा आउने व्यक्तिलाई मुख्यतः श्वासप्रश्वासको माध्यमबाट सर्दछ । शुरुकै अवस्थामा रोगको निदान र उपचार गरेका यो अरुलाई सर्दैन।
एक प्रकारको सुक्ष्म कीटाणुबाट लाग्ने यो रोगको कीटाणु नर्वे वैज्ञानिक डा जि ए हसनले सन् १८७३ मा पत्ता लगाएका हुन् । कम सर्ने दीर्घरोगमध्येको यो संसारका सबै देश, जुनसुकै धर्म, समुदाय, जात र वर्ण, बालक, वृद्ध सबैमा लाग्ने गर्दछ ।
उपचार नगराएमा शरीरको अङ्गभङ्गसमेत गराउने भएकाले बेलैमा उपचार गराउनु आवश्यक छ । यसको कीटाणुले मानिसको छाला, बाहिरी स्नायु र श्वासप्रश्वास प्रणालीको माथिल्लो भागसम्म प्रभाव पार्दछ । यस रोगको सर्ने अवधि सामान्यतः दुईदेखि पाँच वर्षको हुन्छ। मानिसबाट मानिसमा श्वासप्रश्वास र सिधा सम्पर्कको माध्यमबाट सर्ने यो रोग हालसम्म जनावरमा भने पाइएको छैन ।
कुष्ठराेग कसरी सर्छ ?
कीरा, लामखुट्टे, झिङ्गा, उडुस आदिको टोकाइबाट, यौन सम्पर्क र आमाको गर्भबाट बच्चामा नसर्ने अध्ययनले देखाएको छ भने बहुऔषधि पूरा गरेका व्यक्तिबाट यो रोग अरुलाई नसर्ने चिकित्सक बताउँछन्। शरीरमा नचिलाउने लाटो, रातो तथा फुस्रो दाग देखा पर्नु, हातखुट्टा झम्झमाउनु, वा चेतनाशक्ति हराउनु, हातखुट्टा तथा आँखाको मांशपेशी कमजोर हुनु, स्नायु सुनिनु वा पीडा हुनु, कानको लोती बाक्लो हुनु आदि कुष्ठरोगका लक्षण हुन् ।
त्यस्तै अनुहारको छाला रातो, बाक्लो र चिल्लो/चम्किलो हुनु, शरीरमा गिर्खा देखिनु, हातखुट्टामा नदुख्ने घाउ आउनु, मांशपेशी सुक्दै जानु आदि यसका शङ्कास्पद लक्षण हुन्। नेपाल सरकारले कुष्ठरोग निवारण कार्यक्रमको तीन खम्बे रणनीति अवलम्बन गरेको छ । यस अनुसार कुष्ठरोगको सर्ने प्रक्रिया र यसका जटिलता रोक्ने, कुष्ठरोगविरुद्धको भेद्भाव रोक्ने र समावेशीमा प्रवद्र्धन गर्ने, सरकारी स्वामित्व, समन्वय र साझेदारीमा शुद्धीकरण गर्ने छन् ।
नेपालमा यसरी हुँदैछ कुष्ठराेगकाे निवारण
नेपालमा २०१६ सालमा एक लाख कुष्ठरोगका बिरामी भएको अनुमान गरिएको थियो। त्यसयता २०३९ मा बहुऔषधीय उपचार पद्दतिको शुरुआत, २०५३ सालमा ७५ वटै जिल्लामा बहुऔषधि उपचार सेवा विस्तार, २०५६/५७ मा राष्ट्रिय कुष्ठरोग निवारण अभियान पहिलो पटक सञ्चालन गरिएको पाइन्छ ।
त्यस्तै २०६६ सालमा राष्ट्रियस्तरमा कुष्ठरोग निवारणको स्थितिमा आई उक्त साल माघ ५ गते राष्ट्रियस्तरमा कुष्ठरोग निवारणको घोषणा गरिएको थियो। त्यस्तै २०६८ मा कुष्ठरोग निवारणलाई दिगो राख्न पाँचवर्षे रणनीति सन् २०११/१५ तयार गरिएको थियो, भने २०७३ मा कुष्ठरोग अन्त्यका लागि राष्ट्रिय रणनीति सन् २०१६–२० लिइएको थियो ।
कुष्ठराेग लागिहाले के गर्ने ?
चिकित्सकका अनुसार कुष्ठरोग बहुऔषधिको सेवनबाट नै ९९ प्रतिशत रोगका कीटाणुलाई शिथिल बनाई रोग अरुलाई नसर्ने हुन्छ । समयमा नै उपचार गरेमा कुष्ठरोग पूर्णरुपमा निको हुने र मानिसमा अपाङ्गता हुँदैन। अरु जस्तै साधारण सरुवा रोग यसबाट प्रभावित व्यक्ति पनि देशका नागरिक हुन्, उसले पनि सम्मानपूर्वक आफ्नो परिवार र समाजमा जीवनयापन गर्न आउनुपर्छ। उपचारबाट पूर्णरुपमा निको हुने तथा समयमा उपचार गरेमा अपाङ्गता नहुने हुँदा यस रोगका बिरामी र प्रभावितलाई सामाजिक भेद्भाव गर्न नहुने आइएनएफ हरियोखर्क अस्पतालका छाला तथा कुष्ठरोग विशेषज्ञ डा रमेश शर्माले बताए ।
उनका अनुसार हरियोखर्क अस्पतालमा ४० वर्षयता लगातार रुपमा कुष्ठरोगीको उपचार गर्दै आएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई यो रोग सरेको छैन। विकसित राष्ट्रमा यो रोग पहिल्यै उन्मूलन भइसकेको हुँदा यसको रोकथामका लागि खोप नबनेको बताउँदै डा शर्माले यसको मारमा अविकसित एवं अल्पविकसित राष्ट्र परेको उल्लेख गरे ।
कुष्ठरोगको औषधि सरकारी अस्पतामा निःशुल्क उपलब्ध हुँदै आएको छ। नेपालका विश्वव्यापी फैलिएको कोरोना भाइरसको सङ्क्रमणले कुष्ठरोगीको पहिचानमा पनि असर पारेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए। उनका अनुसार कोरोनाको प्रभाव नियमित औषधि सेवन गर्दै आएका बिरामीका साथै नयाँ बिरामीको पहिचानमा समस्या भएको छ।
प्रकाशित मिति २०७७ माघ १८ गते आइतबार ०५:०७




