पोखरा ।
तेस्रो अन्तर्राष्ट्रिय पर्वतिय क्रस कन्ट्री दौडमा चिनका एङ ज्याङ जेन र झेङ वाङ रोङ च्याम्पियन भएका छन् ।
नेपाल पर्यटन बोर्ड, पोखरा महानगर र चिनियाँ राजदूतावासको संयुक्त आयोजना तथा हिमालयन टुरिजम फोरमको व्यवस्थापनमा पोखरामा शनिबार भएको ५० किमि दौडमा पुरुषतर्फ जेन र महिलातर्फ रोङ च्याम्पियन भएका हुन् ।
जेनले निर्धारित दुरी ३ घन्टा ४४ मिनेट १२ सेकेन्डमा पूरा गरे । पुरुषतर्फ नेपाल आर्मीका कुलबहादुर बस्नेतले ३ घन्टा ४८ मिनेट २ सेकेन्डमा पूरा गर्दै दोस्रो र ३ घन्टा ५३ मिनेट ३३ सेकेन्डमा पूरा गर्दै नेपालकै होमलाल श्रेष्ठ तेस्रो भए ।
महिलातर्फ निर्धारित दुरी रोङले ४ घन्टा ४१ मिनेट ४८ सेकेन्डमा पूरा गरिन् । सोही दुरी ४ घन्टा ५० मिनेटमा पूरा गर्दै नेपालकी कल्पना बुढा दोस्रो र ५ घन्टा ८ मिनेट १८ सेकेन्डमा पूरा गर्दै नेपाल पुलिसकी राममाया बुढा तेस्रो भइन् ।
दुवैतर्फ च्याम्पियनले समान १ लाख ५२ हजार रुपैयाँ प्राप्त गरे । दोस्रोले १ लाख १४ हजार ६ सय र तेस्रो हुनेले ७६ हजार ४ सय रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
टिम इभेन्टमा भने नेपाली टिम च्याम्पियन बनेको छ । निर्धारित दुरी ४ घन्टा २० मिनेट १४ सेकेन्डमा पूरा गर्दै सुशिल शाही, श्रृजना पौडेल र श्रीकेश राईको टोली च्याम्पियन बन्यो । नेपाल आर्मीका करण रावत, नरेन्द्र सिंह रावत र निर्मला राईको टोली ४ घन्टा २२ मिनेट २९ सेकेण्डमा पुरा गर्दै दोस्रो र ४ घन्टा २३ मिनेट ०८ सेकेन्डमा पूरा गर्दै एपिएफका पुष्पा भण्डारी, लक्ष्मण भण्डारी र निरज भट्ट तेस्रो भए । टि इभेन्टको च्याम्पियनले ४ लाख ५८ हजार ४ सय रुपैयाँ प्राप्त गरे । दोस्रो हुनेले तीन लाख ४३ हजार ८ सय रुपैयाँ र तेस्रो हुनेले २ लाख २९ हजार २ सय रुपैंयाँ पाए ।
५ किलोमिटर छात्रछात्रा दौडमा कास्कीका बादल कार्की र नारायणी भण्डारी च्याम्पियन बने । छात्रतर्फ कृष्ण परियार दोस्रो र रमेश बुढा तेस्रो भए । छात्रातर्फ स्विकृती कार्की दोस्रो र जुही राई तेस्रो भइन् । दुवैतर्फ प्रथम, द्वितीय र तृतियले क्रमशः ३० हजार, २५ हजार र २० हजार प्राप्त गरे ।
प्रकाशित मिति २०८१ कात्तिक २४ गते शनिबार ०६:५९




