म्याग्दी ।
म्याग्दीको धवलागिरी गाउँपालिका–७ धारापान देखि ताकम–शिवाङ हुंदै झिनडाडा सम्मको सडक स्तरोन्नतिको काम सुरु भएको छ ।
मध्य पहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको बेनी– दरवाङ– धारापानी– ताकम– मुना सडक अन्तर्गत धारापानी देखि झिनडाडा खण्डमा ढलान, कालोपत्र र ग्राभेल गर्न लागिएको हो ।
गण्डकी प्रदेश सरकारको बजेटबाट डेढ दशकअघि मार्ग खुलेको सडक स्तरोन्नति थालिएको धवलागिरी गाउँपालिका–७ म्याग्दीका वडा अध्यक्ष अशोक खत्रीले जानकारी दिए ।
स्थानीयबासीको सहमति र आग्रह अनुसार धारापानी र ताकम गाउँभित्रको सडकलाई पक्कि बनाउने गरि डिजाइन (नक्सांकन) भएको छ ।
धारापानीमा वि.स. २०६६ मा सडक पुगेको थियो । यो सडक धवलागिरी गाउँपालिकाको पाँच वटा वडाका बासिन्दाले प्रयोग गर्ने प्रमुख मार्ग हो । सडक स्तरोन्नति हुन थालेपछि स्थानीयबासी उत्साहित भएका छन् ।
चार किलोमिटर दुरीको यो सडक स्तरोन्नतिका लागि वि.स. २०८१ जेठ २० गते रामसागर – बिएस धौलागिरि जेभी र पूर्वाधार विकास कार्यालय म्याग्दीबीच रु. १४ करोड ६१ लाख ६१ हजारमा ठेक्का सम्झौता भएको थियो ।
दुई वर्षको ठेक्का अवधी भएको योजनाको निर्माण कम्पनीले सडक फराकिलो पार्ने, नाली र टेवा पर्खाल निर्माणको कामले तिब्रता पाएको छ । आठ मिटरका दरले सडकलाई फराकिलो बनाइने भएको छ ।
प्रकाशित मिति २०८१ कात्तिक २८ गते बुधबार १०:४१




