पोखरा ।
नेपाल प्रिमियर लिग (एनपीएल) को खेल तालिका सार्वजनिक भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले यही मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म हुने एनपीएलको खेल तालिका हिजो सार्वजनिक गरेको हो ।
तालिकाअनुसार उद्घाटन खेलमा मंसिर १५ गते शनिबार दिउँसो सवा १२ विराटनगर किंग्स र जनकपुर बोल्ट खेल्नेछन् । खेल कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा हुनेछ । मंसिर १६ गते उपचुनावका कारण खेल हुने छैनन् ।

१७ गतेदेखि भने दिनमा दुई वटा खेल हुनेछन् । पहिलो खेल बिहान सवा ९ बजे र दोस्रो खेल दिउँसो सवा १ बजे हुनेछ । लिग चरणका खेलहरू पुस १ गतेसम्म चल्नेछ ।
लिगको शीर्ष दुईमा रहने टोलीले सीधै क्वालिफायर खेल्ने छ । पहिलो क्वालिफायरमा पुग्ने दुवै टोलीले सीधै फाइनल प्रवेशका लागि पुस ३ गते प्रतिस्पर्धा गर्नेछन् ।
खेलको विजेता टोलीले सीधै फाइनलमा स्थान बनाउँदा पराजित टोलीले अंक तालिकाको तेस्रो र चौथो स्थानमा रहने टोलीबीच हुने एलिमिनेटर खेलको विजेतासँग खेल्नुपर्नेछ ।
अकं तालिकाको तेस्रो र चौथो स्थानमा रहने टोलीले पुस ३ गते नै एलिमिनेटर खेल्नेछन् ।
एलिमिनेटरको विजेताले फाइनल प्रवेशका लागि पहिलो क्वालिफायरमा पराजित टोलीसँग खेल्नुपर्नेछ । फाइनल खेल आगामी पुस ६ गते शनिबार हुनेछ ।





