गोरखा ।
गोरखा नगरपालिका-५ मा मंसिर १६ गते हुने उपनिर्वाचनमा ९ जनाको प्रतिष्पर्धा हुने भएको छ ।
गोरखा-५ को वडाध्यक्षमा आइतबार उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीका खड्कबहादुर भुजेलले नाम फिर्ता लिएसँगै ९ जनाको प्रतिष्पर्धा हुने पक्का भएको हो । निर्वाचन आयोगले बुधबार ९ जनाको अन्तिम नामावली सार्वजनिक गरेको छ ।
वडाध्यक्षको निर्वाचनका लागि नेपाली कांग्रेसबाट भाइकाजी आले, नेकपा एमालेबाट दुर्गामाया थापा राना, नेकपा माओवादी केन्द्रबाट विष्णुबहादुर मगर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट मंगलबहादुर थापा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट कल्पना रानाको अन्तिम नामावली प्रकाशन भएका हो ।
यस्तै नेपाल समाजवादी पार्टीबाट रुपेश मग्राती, राप्रपा नेपालबाट रुपसिंह राना, मंगोल नेशनल अर्गनाइजेसनबाट भवानी थापा मगर र नेशनल रिपब्लिक नेपालबाट सबिना तामाङको उम्मेदवारी समेत यथावत रहेको निर्वाचन कार्यालयले जनाएको छ ।
२०७९ को निर्वाचनबाट वडाध्यक्षमा निर्वाचित भएका खिलबहादुर रानाको मृत्यु भएपछि उक्त ठाउँमा उपनिर्वाचन हुन लागेको हो । उक्त वडाको निर्वाचन क्षेत्रमा दुई हजार २२५ मतदाता छन् । आउँदो १६ गते गोरखा-५ सहित देशैभर मतदान हुनेछ । मंसिर १३ गते राती १२ बजेबाट चुनावी प्रचारप्रसार गर्न नपाइने कार्यालयले जनाएको छ ।
शिवशक्ति आधारभूत बिद्यालय अमराई र गोरखकाली आधारभूत बिद्यालय स्वाँरालाई मतदान स्थल तोकिएको छ । शिवशक्तिमा दुई वटा मतदान केन्द्र र गोरखकालीमा एउटा मतदान केन्द्र रहने कार्यालयले जनाएको छ ।
प्रकाशित मिति २०८१ मंसिर ५ गते बुधबार ०६:५७




