गोरखा ।
गोरखा सदरमुकाममा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन रणनीतिक योजना निर्माण गर्ने उद्धेश्य सहितको ‘ऐतिहासिक पर्यटन व्यवसायी भेला २०८१’ भेला सुरु भएको छ ।
भेलाको पहिलो दिन बाजागाजा सहितको र्यालीबाट कार्यक्रमको सुरुवात गरिएको थियो । दुई दिन सम्म चल्ने भेलाको बुधबार पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरे ।
गोरखामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन रणनीतिक योजना निर्माण गर्ने उद्देश्यसहित सदरमुकाममा भेला सुरु भएको आयोजक होटल संघ गोरखाले जनाएको छ । जिल्लामै पहिलोपटक गोरखाको ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले भेलाको आयोजना गरिएको हो ।
भेलामा जिल्लाभित्र स्थायी घर भई देशभर पर्यटन क्षेत्रमा काम गर्दै आएका पर्यटन व्यवसायीको सहभागिता रहेको होटल व्यवसायी संघ गोरखाका अध्यक्ष केशव कुँवरले जानकारी दिए ।
भेलामा १५० भन्दाबढी पर्यटन व्यवसायी सहित गोरखा क्षेत्र नम्बर २ प्रतिनिधिसभाका सांसद एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेका साथै गोरखाबाट निर्वाचित संघ तथा प्रदेशसभाका सांसदलगायत जिल्लाभित्रका ११ वटै स्थानीय तहका प्रतिनिधिको पनि सहभागिता रहेको थियो ।
पूर्व प्रधानमन्त्रि डा.बाबुराम भट्टाराई समेत सहभागि हुने भनिएको उक्त कार्यक्रममा भट्टराई भने सहभागि भएनन् ।
दुई दिने भेलाले जिल्लाका पर्यटकीय क्षेत्रको प्रर्वद्धन हुने पर्यटकको बसाई लम्वाउन मद्दत पुग्ने, मनास्लु संरक्षण क्षेत्र गोरखा भएर जान पहल गर्ने तथा गोरखाको रैथाने खाना तथा संस्कृतिलाई जगेर्ना गर्न सहयोग पुग्ने आयोजकको विश्वास छ ।
प्रकाशित मिति २०८१ मंसिर ६ गते बिहीबार ०९:४०




