काठमाडौं ।
करिब तीन वर्षपछि अखिल नेपाल फुटबल संघ एन्फाले शहिद स्मारक ‘बी’ डिभिजन लिग गर्ने भएको छ ।
एन्फाले माघ १३ गतेदेखि बि डिभिजन लिग संचालन गर्नेगरी कार्यतालिका सार्वजनिक गरेको हो ।
पछिल्लोपल्ट २०७८ फागुनदेखि चैतसम्म ‘बी’ डिभिजन लिग आयोजजा भएको थियो । तर पछिल्लो दुई सिजन यो लिग हुन सकेको छैन ।
यस ‘बी’चमा ए डिभिजन र सी डिभिजन लिग भएपनि ‘बी’ डिभिजनको मिति भने पटक पटक तोकिएर पनि हुन सकेको थिएन ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारीहरु र ‘बी’ डिभिजन क्लबका पदाधिकारीहरुबीच एन्फा सचिवालयमा भएको संयुक्त बैठकले नयाँ मिति तय गरेको एन्फाका प्रवक्ता सुरेश शाहले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
जसअनुसार ‘बी’ डिभिजन लिग आगामी माघ १३ गतेदेखि सुरु हुनेछ । यस्तै यही मंसिर २१ गतेसम्म क्लब दर्ता गरिसक्नुपर्ने भने पुष १३ गते खेल तालिका प्रकाशन गरिने छ ।
त्यसबीचमा मंसिर अन्तिम साता फिफा कनेक्ट वर्कसप र क्लब लाइसेन्सिङ वर्कसप पनि हुने एन्फाले जनाएको छ ।
लिगका केही खेल दशरथ रंगशाला र बाँकी खेल एन्फा कम्पलेक्समा सञ्चालन गरिने पनि एन्फाले जनाएको छ ।





