गोरखा ।
हरमटारी क्लबको आयोजनामा चौंथो गोरखकाली पर्यटन मेला हुने भएको छ ।
क्लबले सोमबार पत्रकार सम्मेलन गर्दै आगामी पुस ८ देखि १८ गतेसम्म गोरखा नगरपालिका– ६ हरमटारी स्थित रंगशाला खेलमैदानमा मेला हुने जानकारी गराएको हो ।
नवौँ संस्करण गोरखकाली रनिङ कप र दोस्रो संस्करणको अन्तर माद्यमिक विद्यालय स्तरीय फुटबल प्रतियोगिता सञ्चालनको लागि आवश्यक रकम संकलन गर्न मेला आयोजना गर्न लगिएको क्लबका अध्यक्ष जिबन गुरुङले जानकारी दिए ।
आन्तरिक तथा बाह्य क्षेत्रमा जिल्लाको पहिचानलाई प्रचारप्रसार गर्न, गोरखाको वीरता र गाथाको प्रष्फुटन गर्न, स्थानीय क्षेत्रमा उत्पादन भएका कृषि उपजहरुको बिक्री वितरणको लागि बजारको व्यवस्था गर्न, पर्यटकीय गन्तव्यहरुको खोजी गरी प्रचारप्रसार गर्ने मेलाको उदेश्य रहेको गुरुङले बताए ।
मेलामा जिल्लाको पहिचान झल्काउने पहिरन, भेषभुषा प्रर्दशन, विभिन्न समुदायका खानाको परिकार राखिने भएको छ । मेलामा राष्ट्रिय स्तरमा ख्याति प्राप्त र स्थानीय कलाकारहरुको प्रस्तुति रहने बताइएको छ ।
साथै मेलामा हाँडी फुटाइ, दौड प्रतियोगिता, विद्यालय स्तरीय वक्तित्वकला प्रतियोगिता हुने भएको छ ।
मेलामा १ सय वटा स्टल रहने क्लबले जनाएको छ । करिब ३० हजार जनाले अवलोकन गर्ने अनुमान गरिएको मेलामा विद्यार्थीहरुका लागि रु ५० र अन्य व्यक्तिका लागि रु १०० टिकट मूल्य निर्धारण गरिएको छ ।
साथै मेलामा कन्सर्ट तथा राष्ट्रिय स्तरको व्याण्ड प्रस्तुतिको दिन टिकटको मूल्य थप हुन सक्ने क्लबले जनाएको छ ।
करिब १ करोड बराबरको कारोबार हुने अनुमान गरिएको मेलामा ५२ लाख ४५ खर्च तथा तथा ५६ लाख ५० हजार आम्दानी हुने बताइएको छ ।
प्रकाशित मिति २०८१ मंसिर १२ गते बुधबार ०९:३७




