होला त फेरि अर्को वार्ता ?
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माधव कुमार नेपाल पक्षीय समूहबीच भएको वार्ता २८ फागुनमा अध्यक्ष केपी शर्मा ओलीले गरेको एकलौटी निर्णयमा अड्किएर विना निष्कर्ष टुङ्गिएको छ ।
वरिष्ठ नेता माधवकुमार नेपाल समूहले २८ फागुनमा अध्यक्ष केपी शर्मा ओलीले एकलौटी रुपमा गरेको निर्णय खारेज गर्न माग गरेको छ । तर अध्यक्ष ओली त्यसमा सहमत नभएपछि लामो समयको तिक्ततापछिको वार्ता निष्कर्षविहिन बनेको हो ।
एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्च अदालतको फैसलापछि एमाले अध्यक्ष ओलीले २८ फागुनमा आफू निकट केन्द्रीय सदस्यहरुको बैठक राखेर विधान संशोधन गर्ने, नेताहरुको जिम्मेवारी हेरफेर गर्ने र रामबहादुर थापा बादल समूहका २३ नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गर्नेलगायतका निर्णय गराएका थिए ।
नेपाल समूहले भने यो निर्णय मान्य नहुने बताएको छ । यो समूहले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला बोलाएपछि एमाले विभाजन उन्मुख देखिएको थियो ।
आज पार्टी कार्यालय धुम्बाराहीमा भएको वार्तामा अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव ईश्वर पोखरेल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र विष्णु पौडेल, सचिवहरु प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, नेताहरु सुवासचन्द्र नेम्वाङ, सुरेन्द्र पाण्डे र रघुजी पन्त सहभागी थिए ।
वार्तामा नेपाल समूहले २८ फागुनमा अध्यक्ष ओलीले गरेको एकलौटी निर्णय रद्ध हुनुपर्ने माग राखे । सर्वोच्चको फैसलाले एमाले २ जेठ २०७५ को स्थितिमा फर्किएकाले त्यो नै प्रस्थान विन्दु हुनुपर्ने नेपाल समूहका नेताहरुले बताएका छन् ।
यता, ओली पक्षबाट नेपाल समूहले बोलाएको भेला स्थगित गर्न माधव पक्षलाई आग्रह गरिएको छ ।
नेपाल समूहले भने दुबै पक्षले आफूखुसी गरेका सबै गतिविधि स्थगित गर्ने भए आफूहरु तयार रहेको बताएको छ ।
प्रकाशित मिति २०७७ चैत २ गते सोमबार ०३:०६




