२०८३ साउन २१ गते बिहीबार

गोरखा–५ उपनिर्वाचनः ६१.७१ प्रतिशत मत खस्यो

गोरखा–५ उपनिर्वाचनः ६१.७१ प्रतिशत मत खस्यो

विराज त्रिपाठी

@Public 4K Tv

२०८१ मंसिर १६ गते आइतबार ०६:०५

कुल मतदाता संख्याको ६१ दशमलव ७१ प्रतिशतले मतदान गरेका हुन् । वडाध्यक्ष पदका लागि ९ जनाले मनोनयन दर्ता गराएका छन् ।

गोरखा

गण्डकी प्रदेशभर एक मात्र उपनिर्वाचन भएको गोरखा नगरपालिका–५ को उपनिर्वाचनमा १ हजार ३७३ मत खसेको छ । गोरखा–५ को वडाअध्यक्ष पदका लागि भएको निर्वाचनमा ६१.७१ प्रतिशत मत खसेको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।

वडा नं. ५ मा २ हजार २२५ मतदाता छन् । शिवशक्ति आधारभुत विद्यालयको दुई मतदान केन्द्रमा कुल १५ सय १ मतदाता रहेकोमा ९ सय १५ मत खसेको छ । त्यस्तै, गोरखकाली आधारभुत विद्यालयको मतदान स्थलको मतदान केन्द्रमा कुल ७२४ मतदाता रहेकोमा ४५८ मत खसेको मुख्य निर्वाचन अधिकृत शिववहादुर रानाभाटले जानकारी दिए । कुल मतदाता संख्याको ६१ दशमलव ७१ प्रतिशतले मतदान गरेका हुन् । वडाध्यक्ष पदका लागि ९ जनाले मनोनयन दर्ता गराएका छन् ।

वडाध्यक्षको निर्वाचनका लागि नेपाली कांग्रेसबाट भाइकाजी आले, नेकपा एमालेबाट दुर्गामाया थापा राना, नेकपा माओवादी केन्द्रबाट विष्णुबहादुर मगर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट मंगलबहादुर थापा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट कल्पना रानाले मनोनयन दर्ता गरेका थिए । त्यस्तै, नेपाल समाजवादी पार्टीबाट रुपेश मग्राती, राप्रपा नेपालबाट रुपसिंह राना, मंगोल नेशनल अर्गनाइजेसनबाट भवानी थापा मगर र नेशनल रिपब्लिक नेपालबाट सबिना तामाङले उम्मेदवारी दर्ता गरेको मुख्य निर्वाचन अधिकृत रानाभाटले बताए ।

सबै सुरक्षा निकायहरूले मतदान स्थलको कडा सुरक्षा गरेका छन् । मतदान स्थलको संवेदनशीलता हेरेर सुरक्षाकर्मी परिचालन गरेकाले ढुक्क भएर मतदान गर्न प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले बताए । उनले बिहान कम मतदाताको उपस्थिति देखिएपछि बिस्तारै बढ्दै गएको बताए । तत्कालीन वडाध्यक्ष स्व. खिलबहादुर रानाको २०७९ साल कात्तिक १० गते निधन भएपश्चात रिक्त रहेको वडाध्यक्ष पदमा उपनिर्वाचन भएको हो ।

प्रकाशित मिति २०८१ मंसिर १६ गते आइतबार ०६:०५
हजुरको प्रतिक्रिया