२०८३ साउन २१ गते बिहीबार

आहा ! रारा गोल्डकपमा यसपटक डउला, क्यामरुनको भर

आहा ! रारा गोल्डकपमा यसपटक डउला, क्यामरुनको भर

मन क्षेत्री

@Public 4K Tv

२०७७ चैत ८ गते आइतबार ११:०५

मोफसलको बहुप्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता भनिएपनि अन्तर्राष्ट्रिय क्लवहरुको सहभागिता नहुने, भएपनि सहाराकै भातृ क्लव सहारा यूके जस्ता क्लवहरुको मात्र उपस्थिति हुने, उपस्थित क्लवहरु सेमिफाइनलभन्दा माथी उक्लने स्तरका नहुनु जस्ता कारणले सहाराको शाखमा दर्शकहरुले प्रश्न गर्न थालेका हुन् ।

प्रतियोगिता चैत २१ देखि शुरु, मात्र ८ टोलीको सहभागिता

पोखरा । मोफसलको चर्चित फुटबल प्रतियोगिता आहा–रारा गोल्डकप फुटबल आगामी चैत २१ देखि २८ गतेसम्म पोखरा रंगशालामा हुने भएको छ । प्रतियोगितामा यसपटक एक मात्र विदेशी टोली अफ्रिकन रुट एसोएसन, डउला, क्यामरुनको सहभागिता छ ।

फुटबलप्रेमीहरुको शहर पोखरामा दर्शकहरु सधैं विदेशी टोलीको उपस्थितिलाई लिएर उत्साहित हुने गर्छन् । रंगशालामा विदेशी टोलीको खेलमा दर्शकको उपस्थिति समेत उल्लेख्य हुने गर्छ । तर, आहा-राराको पछिल्ला केही संस्करणहरुमा विदेशी टोलीको उपस्थिति नै न्यून छ । उपस्थित टोलीको प्रदर्शनलाई लिएर समेत विविध टिकाटिप्पणी हुन थालेका छन् । सहाराले पछिल्ला प्रतियोगिताहरुमा स्तरीय विदेशी क्लव भित्र्याउन नसकेको गुनासो पोखरेली फुटबलप्रेमीले गर्न थालेका छन् ।

मोफसलको बहुप्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता भनिएपनि अन्तर्राष्ट्रिय क्लवहरुको सहभागिता नहुने, भएपनि सहाराकै भातृ क्लव सहारा यूके जस्ता क्लवहरुको मात्र उपस्थिति हुने, उपस्थित क्लवहरु सेमिफाइनलभन्दा माथी उक्लने स्तरका नहुनु जस्ता कारणले सहाराको शाखमा दर्शकहरुले प्रश्न गर्न थालेका हुन् ।

प्रतियोगिताको यो संस्करणमा नेपाल आयल निगम मनाङ्ग मर्स्याङ्दी क्लब, नेपाल पुलिस क्लब, रुस्लान थ्रिस्टार क्लब, नेपाल एपिएफ क्लब, संकटा क्लब, मछिन्द्र क्लब, अफ्रिकन रुट एसोएसन, डउला, क्यामरुन र आयोजक सहारा क्लब पोखराको सहभागिता रहने आयोजक सहारा क्लवले जनाएको छ ।

स्वभाविक हो । यसपटक विदेशी टोलीको तिर्खा प्रतियोगितामा सहभागी एकमात्र टोली अफ्रिकन रुट एसोएसन, डउला, क्यामरुनले मेटने छ । अफ्रिकन भन्ने वित्तिकै अग्ला कदका, प्राविधिक भन्दापनि शारिरिक फुटवल खेल्ने, गोलपछि अनाैठो ताैरतरिकाले खुसी व्यक्त गर्ने खेलाडीका रुपमा अफ्रिकन खेलाडीलाई पोखरेली दर्शकले बुझ्ने गरेका छन् । प्रतियोगितामा पहिलोपटक सहभागिता जनाउन लागेको अफ्रिकन रुट एसोएसन, डउला, क्यामरुनको स्तर र खेलले पोखरेली दर्शकको मन कसरी जित्छ त्यो त प्रतियोगितासम्म कुर्नै पर्छ ।

१९ औं संस्करणमा मात्र ८ टोली सहभागिता छन् । कोरोना महामारीका कारण ४ टोलीको सहभागिता घटेको क्लवका अध्यक्ष केशव बहादुर थापाले बताए । उत्कृष्ट विदेशी टोली भित्र्याउन एन्फासँगको समन्वय, रंगशालाको स्तर आदी विविध कारण रहने भएपनि क्लव सो विषयमा सचेत रहेको जानकारी दिए । उनले भने-‘ विगत केही संस्करणदेखि हामी उत्कृष्ट विदेशी टोली भित्र्याउने प्रयासमा छाै तर, विविध प्राविधिक कारणले हामी सफल हुन सकिरहेका छैनाै । यसपटक कोभिडका कारण हामीलाई असहज भयो । अर्को संस्करणमा दर्शकलाई चित्त बुझाउन हामी प्रयास गर्नेछाै ।”

 

प्रतियोगितामा उपाधि विजेतालाई १० लाख १ हजार रुपैयाँ र उप विजेतालाई ५ लाख १ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ । प्रतियोगितामा १ करोड २९ लाख १ हजार रुपैयाँ आम्दानी हुने अनुमान आयोजक क्लवले जनाएको छ । त्यसैगरी क्लबले १ करोड १ लाख ८१ हजार रुपैयाँ खर्च हुने अनुमान गरेको अध्यक्ष थापाले बताए ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई अप्रिला स्कुटर प्रदान गरिने छ । प्रतियोगितामा उत्कृष्ट स्ट्राइकर, मिड फिल्डर, डिफेन्डर, गोलकिपर र उत्कृष्ट प्रशिक्षकलाई पनि नगदसहित पुरस्कृत गरिने अध्यक्ष थापाले जानकारी दिए ।

प्रतियोगिताको अवसरमा सहारा क्लबले सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी २०७७ बाट एकजना खेलाडीलाई नगद ३५ हजारसहित दोसल्ला र ताम्रपत्र प्रदान गरेर सम्मान गर्ने जनाएको छ ।

सहारा क्लबले विगत २० वर्षदेखि पोखरामा फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको छ । प्रतियोगिताबाट बचत भएको रकम प्रतियोगिता आयोजक सहारा क्लबले सञ्चालन गरेको सहारा एकेडमीमा खर्च गरिनेछ । पोखरा १७ दोबिल्लामा रहेको सहारा एकेडेमीमा हाल १४ जिल्लाका २४ जना असहाय बालकहरू आश्रित छन् । क्लबले उनीहरुलाई शिक्षा, दीक्षा निःशुल्क प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति २०७७ चैत ८ गते आइतबार ११:०५
हजुरको प्रतिक्रिया