पोखरा
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले पार्टी सभापति रवि लामिछानेलाई चितवनबाट रातारात पोखरा पुर्याइएको भन्दै आपत्ति प्रकट गरेको छ । रास्वपा कार्यवाहक प्रवक्ता मनिष झाले शुक्रबार विज्ञप्ति जारी गर्दै सरकारको प्रत्यक्ष निर्देशनमा प्रहरीले यस्तो काम गरेको आरोप लगाएका छन् ।
‘राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्वउपप्रधान तथा गृहमन्त्री एवं सांसद रवि लामिछानेलाई रातारात चितवनबाट पोखरा लगिएको घटनाप्रति पार्टीको घोर आपत्ति छ । सभापति लामिछानेलाई दिनभर चितवन जिल्ला सरकारी वकिलको कार्यालयमा बयान गराई राति सुतिरहेको बेलामा अचानक उठाई मध्यरातमा चितवनबाट सडक मार्गहुँदै राति ३ बजे पोखरा पुर्याइको रहेछ । यो आश्चर्यजनक, निकृष्ट, निन्दनीय घटना सरकारको प्रत्यक्ष निर्देशनमा भएको सूचना प्रहरी सूत्रबाट प्राप्त भएका छन्,’ विज्ञप्तिमा भनिएको छ ।
सरकारले राज्यसंयन्त्रको दुरुपयोग गरी एक प्रतिस्पर्धी राजनीतिक दलको नेतालाई विभिन्न बहानामा यातना दिने अमानवीय, अपमानजनक तथा गैरन्यायिक चाल चलेको उसको ठहर छ । यसैबीच, सभापति लामिछानेको निजी डायरी हिरासतबाटै गायब गरिएको पनि रास्वपाले बताएको छ ।
‘हामी यसको घोर भर्त्सना गर्दछौँ, सरकारको यो कर्मले नागरिकको नैसर्गिक मानवअधिकार हनन गरेको छ । यो निर्मम कदमको औचित्य राज्यले पुष्टि गर्नुपर्नेछ । यसतर्फ राष्ट्रिय मानवअधिकार आयोग एवं सम्पूर्ण राष्ट्रिय अन्तर्राष्ट्रिय मानवअधिकारकर्मी तथा मानवअधिकारवादी संघसंस्थाहरूको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौँ,’ रास्वपाले भनेको छ ।
प्रकाशित मिति २०८१ मंसिर २१ गते शुक्रबार ०४:३६




