पोखरा
पोखरामा मंसिर २५ देखि २९ गतेसम्म गण्डकी प्रदेशस्तरीय अन्तरपालिका ‘प्रथम अन्नपूर्ण अध्यक्ष कप’ पुरुष तथा महिला बास्केटबल प्रतियोगिता हुने भएको छ ।
अन्नपूर्ण गाउँपालिका बास्केटबल संघको आयोजनामा ‘कृषि, पर्यटन र पूर्वाधार अन्नपूर्ण समृद्धिको आधार भन्ने नारासहित पोखरा रंगशाला रहेको बास्केटबल कोर्टमा उक्त प्रतियोगिता हुन लागेको हो ।
अन्नपूर्ण गाउँपालिका बास्केटबल संघका अध्यक्ष कृपाश्वर गुरुङले मंगलबारदेखि हुने प्रतियोगितामा गण्डकी प्रदेशका ११ जिल्लाका पालिकाबाट सहभागिता हुन पाउने जानकारी दिए ।
लिक कम नकआउटको आधारमा सञ्चालन हुने प्रतियोगितामा पुरुषतर्फको विजेताले १ लाख १५ हजार १ सय ११ र उपविजेताले ७० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र पाउने आयोजकले जनाएकोे छ । तेस्रो हुनेले ३० हजार पाउनेछन् । टिम दर्ता गर्न १२ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।
महिलातर्फको विजेताले ३० र उपविजेताले १५ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने बास्केटबल संघका अध्यक्ष गुरुङ बताए । महिलातर्फ एक टिमलाई दर्ता शुल्क २ हजार ५ सय तोकिएको छ ।
विधागत पुरुषतर्फ बेस्ट डिफेन्सीप प्लेयर, बेस्ट अफेन्सीप प्लेयर र एमभिपीलाई १५/१५ सय र अनुशासित टिमलाई ५ हजार रुपैयाँ पुरस्कार गरिनेछ । यस्तै महिला विधागतर्फ अफेन्सीप प्लेयर र एमभिपीलाई नगद रु १५/१५ सय पुरस्कार प्रदान गरिने अन्नपूर्ण गाउँपालिका बास्केटबल संघले जनाएको छ । खेलमा एक टिममा पुरुषतर्फ ५ जना र महिलातर्फ ३ जना खेलाइनेछ ।
प्रकाशित मिति २०८१ मंसिर २३ गते आइतबार ०६:२९




