पहिलो खेल क्लब एचडीसी र क्यालीकट हिरोजबीच
पोखरा ।
काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपमा आज पनि दुई खेल हुँदैछन् ।
पहिलो खेलमा आज माल्दिभ्सको क्लब एचडीसी र भारतको क्यालीकट हिरोजबीच प्रतिस्पर्धा हुँदैछ ।
पहिलो खेल दिउँसो साढे २ बजे त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा हुनेछ ।
आफ्नो पहिलो खेलमा गण्डकी प्रदेश भलिबल संघलाई ३–२ ले हराएको एचडीसी हिजो भएको दोस्रो खेलमाइरानको युवा टोलीसँग ३–२ को रोमाञ्चक सेटमा पराजित भएको थियो ।
एचडीसी दोस्रो जित हात पार्ने लक्ष्यमा रहँदा क्यालीकट पहिलो जितको खोजीमा हुनेछ ।
त्यस्तै आजै साँझ ५ बजे हुने दोस्रो खेलमा नेपालको गण्डकी प्रदेश भलिबल र इरानको युवा टोलीबीच प्रतिस्पर्धा हुनेछ ।
लगातार २ खेल हारेको गण्डकी पहिलो जितको खोजीमा छ । यसअघि गण्डकी एचडिसीसँग ५ सेटमा पराजित भएको थियो भने हिजो हेल्प नेपाल स्पोर्ट्स क्लबसँग ३–१ को हार ब्यहोरेको थियो ।
प्रतियोगितामा भारतको क्यालीकट हिरोज, इरानी टोली र माल्दिभ्सको क्लब एचडीसीको सहभागिता छ ।
८ दिनसम्म चल्ने च्याम्पियनसिपमा कुल १४ खेल हुनेछन् । सिंगल राउन्ड रोबिन लिगमा १० खेल हुनेछन् ।
लिगमा उत्कृष्ट हुने ४ टिमले सेमिफाइनलमा स्थान बनाउनेछन् । लिगको शीर्ष टिमले तेस्रो हुने टिमसँग र दोस्रो हुनेले चौथो स्थानमा लिग सकाउने टोलीसँग सेमिफाइनल खेल्नेछ ।
लिग चरणबाट एक टिम बाहिरिनेछ । फाइनल खेल मंसिर २९ गते हुनेछ ।
प्रकाशित मिति २०८१ मंसिर २४ गते सोमबार १०:३८




