पोखरा ।
एसीसी यू–१९ महिला एसिया कपमा नेपालले आज पाकिस्तानसँग खेल्दैछ ।
मलेसियामा हिजोदेखि सुरु भएको खेल अन्तर्गत नेपाल र पाकिस्तानबीचको खेल नेपाली समय अनुसार बिहान पौने १२ बजे मलेसियाको बायुमास ओभलमा हुनेछ ।
नेपाली महिला टोलीले पहिलो पटक एसिया कप खेल्न लागेको हो । आजको खेल जित्दै नेपाल विजयी सुरुवात गर्न चाहन्छ ।
आइतबार भएको खेलमा भारतले पाकिस्तानलाई ९ विकेटले हराएको थियो । समूह बीमा रहेको भारतले शानदार सुरुवात गरेको छ ।
एसिया कप खेल्न नेपाली टोली गत शुक्रबार मलेसिया प्रस्थान गरेको थियो ।
महेन्द्रप्रसाद रिजालको प्रशिक्षणमा रहेको नेपाली युवा टोलीको कप्तानी पूजा महतोले गर्ने छिन् भने टिमको उपकप्तानको जिम्मेवारी सोनी पाख्रिनलाई दिइएको छ ।
एसियाका ६ टोलीको सहभागिता रहेको प्रतियोगिताको समूह एमा बंगलादेश, मलेसिया र श्रीलंका छन् ।
नेपालले पुस २ मा भारतको सामना गर्नेछ । दुवै समूहका शीर्ष २ टोली सुपर फोरमा प्रवेश गर्ने छन् ।
सिंगल राउन्ड रोविनका आधारमा खेलिने सुपर फोरका शीर्ष २ टोलीबीच फाइनल हुने छ ।





