दुई विदेशी कप्तान आमनेसामने, वार्नर कि मोर्गन ?
पोखरा । शुक्रबारदेखि सुरु भएको १४ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को आजको खेलमा दुई पटकको च्याम्पियन कोलकाता नाइटराइडर्स र सन् २०१६ को विजेता सनराइजर्स हैदरावाद बीच भिडन्त हुँदैछ । यो भिडन्तलाई यस वर्ष आईपीएलमा रहेका दुई जनामात्र विदेशी कप्तान विचको भिडन्तका रुपमा समेत हेरिएको छ ।
कोलकाताको कप्तानी इंग्ल्याण्डका इयोन मोर्गन र हैदरावादको कप्तानी अस्ट्रेलियाका डेविड वार्नरले सम्हालिरहेका छन् ।
पछिल्लो ५ सिजनमा हैदरावाद सबैभन्दा कन्सिस्टेन्ट टोली रहँदै आएको छ । यसपटक पनि हैदरावादलाई उपाधिको प्रमुख दाबेदार मानिएको छ । टोलीको ब्याटिङ लाइनअप आक्रामक छ भने उसको बलिङ लाइनअप पनि सशक्त रहेको छ । वार्नरको अगुवाइमा टोलीमा ‘बिग हिटर्स’ को संख्या धेरै छ । यसमा केन विलियमसन, जेसन रोय, जोनी ब्रेस्टो, मनिस पाण्डे, केदार जाधव र ऋद्धिमान साहा रहेका छन् । यस्तै, गत सिजन अब्दुल समद र अभिषेक शर्माले पनि राम्रो प्रदर्शन गरेका थिए । हैदरावादको बलिङमा भुवनेश्वर कुमार, टी नटराजन, सन्दीप शर्माजस्ता डेथ ओभर स्पेसलिस्ट बलर रहेका छन् ।
पछिल्लो पाँच सिजन हैदरावादले लगातार प्लेअफमा स्थान बनाउँदै आएको छ । सन् २०१५ यता वर्नरले टोलीलाई अगाडिबाट नेतृत्व गरिरहेका छन् । आईपीएलको लगातार ६ सिजन उनले ५ सयभन्दा बढी रन बनाउने एक्लो ब्याट्सम्यान हुन् । सन् २०१८ मा एक वर्षको प्रतिबन्धका कारण विलियमसनले टोलीको कप्तानी सम्हालेका थिए । टीम पहिले नै सशक्त भएका कारण यो सिजन टोलीले मात्र तीन जना खेलाडी किनेको थियो ।
यता, कोलकाताको टोलीमा गत सिजनको तुलनामा निकै सन्तुलित देखिएको छ । टोलीले ८ शानदार खेलाडी खरिद गरेको छ । जसमा शकिब अल हसन, बेन कटिङ, करुण नायर र हरभजन सिंह सामेल छन् ।
दुई टोलीबीच १९ खेल भएकोमा कोलकाताले १२ र हैदराबादले ७ खेल जितेको छ ।
यस सिजन उद्घाटन खेलमा रोयल च्यालेन्जर्स बैंग्लुरुले मुम्बई इन्डियन्सबिरुद्द २ विकेटको जीत निकाल्दै सुखद शुरुवात गरेको छ भने दिल्लीले आफ्नो पहिलो खेलमा चेन्नाईलाई ७ विकेटले पराजित गर्दै शानदार शुरुवात गरेको छ ।
प्रकाशित मिति २०७७ चैत २९ गते आइतबार ०५:३०




