पुरस्कार बैशाख तेस्राे साता प्रदान गरिने
पाेखरा । युवा मुक्तककार प्राञ्जल अक्षरयात्रा प्रतिभा पुरस्कारबाट पुरस्कृत हुने भएका छन् । गजल सन्ध्या पोखरा तथा नवनीत साहित्य सागरद्वारा संयुक्त रूपमा सञ्चालित अक्षर यात्रामा संलग्न भई साहित्य सिर्जनामा सक्रिय स्रष्टामध्येबाट हरेक बर्ष एकजना पुरस्कृत हुने याे बर्षकाे पुरस्कारबाट प्राञ्जल पुरस्कृत हुन लागेकाे गजल सन्ध्याले जनाएकाे छ ।
साहित्यकार लक्ष्मण थापाको संयोजकत्वमा गठित प्रतिभा छनोट समितिले प्राञ्जललाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । प्रतिभा छनोट समितिमा साहित्यकार प्रकट पंगेनी ‘शिव’ दीपक समीप, कपिल शर्मा, सन्ध्याका अध्यक्ष मोहन भण्डारी, सचिव त्रुपक तथा नवनीत साहित्य सागरका अध्यक्ष डिल्लीराम भुषाल सदस्य रहेका थिए ।
गुल्मीकाे सत्यवती गाउँपालिका वडा नं. २, पाहाँदी स्थायी घर भएका प्राञ्जल विगत १२ वर्षदेखि पोखरामा रहेर साहित्य सिर्जना तथा रंगमञ्चमा समेत सक्रिय छन् । नेपाली लेखक संघ, ज्ञानोदय पुस्तकालय, मुक्तक मञ्च, साहित्यिक चौतारी नेपाल लगायतका संस्था संग आवद्ध छन् । पेशाले प्रशिक्षक उनी साहित्य सिर्जना, रंगमञ्च तथा सामाजिक काममा सक्रिय छन् । विभिन्न संयुक्त संग्रह तथा पत्रपत्रिकामा उनका दर्जनौँ रचना प्रकाशित छन् ।
गजल सन्ध्या, पोखरा र नवनीत साहित्य सागरद्वारा हरेक महिनाको तेस्रो शनिबार संयुक्त रूपमा आयोजना गरिने ‘अक्षरयात्रा’ कार्यक्रममा निरन्तर सक्रिय स्रष्टामध्येबाट याे पुरस्कारका लागि प्रतिभा छनोट गरी पुरस्कार प्रदान गर्ने गरिन्छ । युवा साहित्यकारद्वय गोविन्द गिरी र कृष्ण देवकोटाले युवा साहित्यकारहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले वि.सं. २०६५ सालमा पुरस्कारको स्थापना गरेका थिए । अक्षरयात्राको १८२ औँ शृङ्खलाको अवसर पारेर आगामी वैशाख तेस्रो शनिबार एक कार्यक्रमबीच सो पुरस्कार प्रदान गरिने गजल सन्ध्याले जनाएकाे छ ।
अक्षरयात्रा प्रतिभा पुरस्कारको राशि नगद रु. ५,५५५।– रहेको छ ।
अक्षरयात्रा प्रतिभा पुरस्कारबाट यसअघि प्रकाश ज्ञवाली, रूपिन्द्र प्रभावी, कपिल शर्मा, सरला लामिछाने ‘सरू’, जीवनसागर भण्डारी, सुरज उपाध्याय र सञ्जीव पौडेल पुरस्कृत भइसकेका छन् ।
प्रकाशित मिति २०७७ चैत ३० गते सोमबार ०७:१६




