पुस १८ देखि हुने लिगमा पहिलो चरणबाट छनोट भएका ५ क्लबले प्रतिस्पर्धा गर्ने
पोखरा ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय महिला लिगको दोस्रो चरणको खेलतालिका सार्वजनिक गरेको छ ।
यही पुस १८ गतेदेखि सुरु हुने दोस्रो चरणको लिगमा पहिलो चरणको लिगबाट छनोट भएर आएका ५ क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
जस अन्तर्गत पहिलो खेल त्रिभुवन आर्मी एफसी र बागमति युथ क्लबबीच हुनेछ । महिला लिगको अन्तिम चरणका खेलहरु डबल राउण्ड रोविनका आधारमा हुनेछ ।
डबल राउण्ड रोविन लिगमा कूल २० खेल हुनेछ । त्यसपछि शीर्ष चारमा रहने टोली प्लेअफमा प्रवेश गर्नेछन् ।
प्लेअफमा क्वालिफायर र एलिमिनेटर गरी ४ खेल हुनेछ । दोस्रो चरणमा लिगमा पहिलो र दोस्रो हुनेबीच क्वालिफायर वान हुनेछ । यस्तै तेस्रो र चौथो हुनेबीच एलिमिनेटर हुनेछ ।
क्वालिफायर वानको विजेता सिधै फाइनल प्रवेश गर्नेछ । क्वालिफायर वानको पराजित टोली र एलिमिनेटरको विजेताबीच क्वालिफायर टु हुनेछ र दुवै क्वालिफायरको विजेताबीच फाइनल खेल माघ १६ गते हुनेछ ।

पहिलो चरणको लिगबाट शीर्ष पाँचमा रहेका तीन विभागीय टोली एपीएफ फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबसँगै स्याङ्जाको वालिङ नगरपालिका र कोशी प्रदेशले दोस्रो चरणका लागि स्थान पक्का गरेका थिए ।
तर कोशी प्रदेशले आर्थिक कारण देखाउँदै दोस्रो चरणमा सहभागिता नजनाउने निर्णय गरेपछि एन्फाले पहिलो चरणमा छैटौं भएको सर्लाहीको बागमती युवा क्लबलाई खेलाउने भएको छ ।
त्यस्तै एन्फाले भुटान यु–१९ टोलीविरुद्ध हुने महिला मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली यु–१९ महिला फुटबल टोली घोषणा गरेको छ ।

एन्फाले सोमबार २३ सदस्यीय टोली घोषणा गरेको हो । नेपाल र भुटानको यू–१९ महिला फुटबल टोलीबीचको मैत्रीपुर्ण खेल यही डिसेम्बर २२ मा दशरथ रंगशालमा हुनेछ ।





