पोखरा ।
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दोस्रो क्वालिफायर खेल हुँदैछ ।
दोस्रो क्वालिफायरमा आज जनकपुर बोल्ट्सले एलिमिनेटरको विजेता कर्णाली याक्ससँग प्रतिश्पर्धा गर्दैछ ।
जनकपुर र कर्णालीबीचको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट स्टेडियममा आज मध्याह्न १२ बजे शुरु हुनेछ ।
बुधबार जनकपुर बोल्ट्सलाई ८ विकेटले पराजित गरेर सुदूरपश्चिम रोयल्स फाइनलमा प्रवेश गरेसँगै जनकपुरले एलिमिनेटरको विजेता कर्णाली याक्ससँग दोस्रो क्वालिफायर खेल्न लागेको हो ।
दोस्रो क्वालिफायरको विजेताले सुदूरपश्चिम रोयल्ससँग एनपिएल उपाधिका लागि खेल्नेछ । बलियो प्रतिद्वन्द्वी मानिएको जनकपुरलाई पहिलो क्वालिफायरमा हराउँदै सुदूरपश्चिम फाइनलमा प्रवेश गरेको छ ।
सुदूरपश्चिमविरुद्ध जनकपुरको यो लगातार दोस्रो पराजय हो । यसअघि लिगमा पनि सुदूरपश्चिमले जनकपुर बोल्ट्सलाई पराजित गरेको थियो ।
प्लेअफमा पनि सुदूरपश्चिमले विजययात्रा कायमै राख्यो । लिग चरणको खेलमा सुदूरपश्चिमले जनकपुरलाई ७२ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।
कर्णालीले पनि बुधबार नै इलिमिनेटरमा चितवन राइनोजलाई हराउँदै दोस्रो क्वालिफायरमा स्थान बनाएको छ ।
बुधबारको पहिलो खेलमा कर्णालीले इलिमिनेटरमा चितवन राइनोजलाई २१ रनले पराजित गरेको हो । एनपिएलको फाइनल खेल भने शनिबार हुनेछ ।
प्रकाशित मिति २०८१ पुस ४ गते बिहीबार ०९:१३




