न सावधानी छ न सतर्कता, अव के हुन्छ ?
पोखरा । कोरोना भाइरसको संक्रमणबाट गण्डकी प्रदेशमा थप २ जनाले ज्यान गुमाएका छन् । दुवै जनाको उपचारका क्रममा पोखराका विभिन्न अस्पतालमा ज्यान गएको हो ।
पोखरा महानगरपालिकाका ७८ वर्षीय १ जना कोरोना भाइरस संक्रमितको ज्यान गएको छ । उनको उपचारका क्रममा पोखराको चरक मेमोरियल अस्पतालमा आज ज्यान गएको हो । उनलाई चैत्र २० गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
यस्तै तनहुँमा ५१ वर्षीय पुरुषले पनि कोरोना भाइरस संक्रमणबाट उपचार कै क्रममा पोखरामा ज्यान गुमाएका छन् । जिल्लाको शक्लागण्डकी नगरपालिकाका उनको हिजो आइतबार चरक मेमोरियल अस्पतालमा नै ज्यान गएको हो । उनलाई चैत्र २३ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या २ सय ७ पुगेको छ ।
आम मानिसहरुले सावधानी र सतर्कता अपनाउन छाडेपछि गण्डकी प्रदेशमा फेरि एकपटक समूदायस्तरमै कोरोना भाइरसको संक्रमण देखिन थालेको छ । आईतबार मात्र पोखराका ३४ सहित गण्डकी प्रदेशका थप ३९ जनामा संक्रमण पुष्टि भएको थियो भने गत साता प्रदेशभर कुल १७४ संक्रमित थपिए ।
यता, सोमबार माछापुच्छ्रे गाउँपालिकाका २ सहित पोखराका २३ जना एवम् नवलपरासीका थप ३ जना गरि प्रदेशभर कुल २६ जनामा संक्रमण पुष्टि भएकाे प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १६ हजार ९ सय ३३ पुगेको छ ।
प्रकाशित मिति २०७७ चैत ३० गते सोमबार ०४:१२




