पोखरा ।
पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनल खेल आज हुँदैछ ।
एनपीएलको उपाधिका लागि आज सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच प्रतिश्पर्धा हुँदैछ ।
फाइनल खेल दिउँसो साढे १२ बजेदेखि त्रिवि क्रिकेट मैदानमा शुरू हुनेछ ।

सुदूरपश्चिम ७ खेलमा ६ जीतका साथ अंकतालिकामा शीर्ष स्थानमा रहंदै फाइनलमा पुगेको हो भने जनकपुर समान ७ खेलमा ५ जीतका साथ दोस्रो स्थानमा रहेर फाइनलमा पुगेको हो ।
यसअघि लिग चरणमा सुदूरपश्चिमले जनकपुरलाई ७२ रनले र पहिलो क्वालिफायरमा ८ विकेटले हराएको थियो ।
फाइनल खेल अघि दुवै टोलीका कप्तानले उपाधि जित्नेमा आशावादी रहेको बताएका छन् ।
सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले आफूहरुले लिग चरणदेखि अहिलेसम्म राम्रो प्रदर्शन गरेको र फाइनल खेलमा पनि यो लयलाई निरन्तरता दिने प्रयास गर्ने बताएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनमामा गत मंसिर १५ गतेदेखि सुरु भएको एनपीएलमा ८ टोली सहभागी थिए ।
घरेलु क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता फ्रेञ्चाइज टिम फाइनलमा पुगेका सुदूरपश्चिम र जनकपुरसहित विराटनगर किङ्स, चितवन राइनोज, काठमाण्डौ गुर्खाज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स र कर्णाली याक्स रहेका थिए ।
प्रकाशित मिति २०८१ पुस ६ गते शनिबार ०९:५३




