पोखरा ।
आज २५ डिसेम्बर, येशु क्रिष्टको जन्मदिन, इसाई धर्मावलम्बीले आज येशु क्रिष्टको सम्झनामा धुमधामका साथ क्रिसमस मनाउँदैछन् ।
अंग्रेजी पात्रो अनुसार हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुशियाली मनाउने परम्पराअनुसार इसाई धर्मावलम्बीले आज मेरी क्रिसमस मनाउन लागेका हुन् ।
आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशु ख्रीष्टको जन्म भएको मानिन्छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ ।
उनले मुक्ति, प्रेम र शान्ति दिएको विश्वासमा क्रिश्चियन समुदायले आजको दिनलाई तीनवटै दिवसका रुपमा मनाउने गरेका छन् ।
उनले मानव समुदायका लागि पु¥याएको योगदानको सम्झनामा ईस्वी संवत् चलाइएको विश्वास गरिन्छ ।
क्रिसमस दिवसका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ । ‘ख्रीष्टमस’ पनि भनिने यस अवसरमा आज देशभरका चर्चहरुमा प्रार्थनालगायत कार्यक्रम गरी येशु ख्रीष्टको सम्झना गरिँदैछ ।
क्रिसमसका अवसरमा पोखरा, काठमाण्डौलगायत शहरमा विशेष रौनक छ । बजार र ठूला व्यापारिकस्थलमा क्रिसमस ट्री लगायतले सजाइएको छ ।
प्रकाशित मिति २०८१ पुस १० गते बुधबार ०८:४७




