म्याग्दी ।
सहकारी रजिष्टारको कार्यालय गण्डकी प्रदेश पोखराका रजिष्टार भेषराज रिजालले सहकारी संघसंस्थामा बन्ने लेखा तथा सुपरिवेक्षण समितिले सहकारीको आलोचना गर्न सक्नुपर्ने बताएका छन् । शेयर सदस्यहरुले सहकारी संस्थालाई जीवन्त राख्नको लागि पर्याप्त समय दिनुपर्ने, सहकारीलाई आवश्यक सहयोग गर्नुका साथै अनुगमन र निरीक्षण गर्नुपर्ने रिजालको भनाई छ ।
न्यू धौलागिरि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बुधवार २५औं वार्षिक साधारणसभाको उद्घाटन गदैं सहकारी रजिष्टार रिजालले सहकारी संस्थाले ऋण लगानी गर्दा उद्देश्यमूलक कामको लागि मात्रै ऋण प्रवाह गर्नुपर्ने बताउँदै व्यक्तिलाई लगानी गर्दा उसले ऋण तिर्न सक्छ वा सक्दैन समग्र पक्षको अध्ययन गरेर लगानी गर्नुपर्नेमा जोड दिए ।
सोही कार्यक्रममा सहकारी रजिष्टार कार्यालयका सहकारी अधिकृत सुर्यप्रसाद आचार्यले सहकारीको माध्यमबाट शेयर सदस्यहरुको क्षमताको विकास गर्नुपर्ने, उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने र शेयर सदस्यहरुको आर्थिक–सामाजिक हैसियत कायम गर्नु सहकारीको मूल मर्म रहेको बताए ।
२०५६ सालमा स्थापना भएको सहकारीमा गत वर्षसम्म शेयर पुँजी आठ करोड ३९ लाख ८८ हजार पाँचसय रुपैयाँ र लगानी ६० करोड ८९ लाख ३९ हजार एकसय ७९ रुपैयाँ रहेको छ । साधारणसभाको अवसरमा म्याग्दी बहुमुखी क्याम्पसको स्नानकोत्तर तहमा अध्ययनरत विद्यार्थी सोमप्रसाद सापकोटालाई नगद १५ हजार पाँचसय रुपैयाँसहित पुरस्कृत गरिएको थियो ।
यसैगरी उत्कृष्ट कार्यसम्पादन गर्ने मुना सेवा केन्द्रका प्रमुख दिप्सन भण्डारी र मल्लाज सेवा केन्द्रका प्रमुख मानबहादुर क्षेत्रीलाई उत्कृष्ट सेवा केन्द्र प्रमुखको रुपमा दोसल्ला ओढाएर प्रमाणपत्रसहित सम्मान गरिएको थियो । यसैगरी उत्कृष्ट कर्मचारी सुमन थापामगर तथा उत्कृष्ट सेवा केन्द्रतर्फ मल्लाज सेवा केन्द्रलाई पनि सम्मान गरिएको थियो ।
प्रकाशित मिति २०८१ पुस ११ गते बिहीबार ०२:०२




