लमजुङ ।
लमजुङकै सर्वाधिक पुरस्कार राशीको त्रिवेणी कपको ३२ औं संस्करण सुरु भएको छ ।
आगामी पुस २० गते सम्म बेशिसहरमा संचालन हुने त्रिवेणी कपको उद्घाटन शुक्रबार गण्डकी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेलले गरेका हुन् ।
मन्त्री पौडेलले खेलकुदको माध्यमबाट मुलुक समृद्ध बनाउन सकिने बताए । त्रिवेणी रङ्गशालाको स्तरोन्नति र समग्र जिल्लाको विकासका लागि आफूले सक्दो सहयोग गर्ने मन्त्री पौडेलको भनाई थियो ।
मन्त्री पौडेलले खेलकुदको माध्यमबाट जिल्ला, प्रदेश हुदै देशको नाम अन्तर्राष्ट्रियस्तरमा चिनाउन सक्ने भएकाले खेलकुद क्षेत्रको विकासका लागि सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको बताए ।
प्रतियोगितामा बिजेताले १२ लाख नगद, त्रिवेणी कप, स्वर्ण पदक र प्रमाणपत्र र उपबिजेताले ६ लाख रुपैयाँ नगद, रजत पदक र प्रमाणपत्र पाउने छन् ।
प्रतियोगितामा सेमीफाइनल पुग्ने २ टीमले नगद २÷२ लाख रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगितामा सर्वोकृष्ट खेलाडीलाई २५ हजार, स्वर्णपदक र प्रमाणपत्र, सर्वाधिक गोलकर्तालाई २५ हजार, स्वर्णपदक र प्रमाणपत्र र अनुशासित टीमलाई ट्रफी र प्रमाणपत्र पाउने छन् ।
प्रतियोगितामा देशका प्रतिष्ठित १६ वटा टीमको सहभागिता रहेको छ । कपमा राष्ट्रिय लिगको शीर्ष स्थानमा रहेका ए र बी डिभिजन क्लवहरुको समेत सहभागिता रहेको आयोजकले जानकारी दिए । क्लवले फुटवल प्रतियोगिता सँगै पुस १५ गते ल्होसारका दिन बेसीशहरमा सडक महोत्सवका साथ त्रिवेणी साँझ पनि गर्ने भएको छ ।
प्रकाशित मिति २०८१ पुस १२ गते शुक्रबार ०६:३६




