काठमाडौं ।
प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्किएको सम्झनामा आज मेलमिलाप दिवस मनाइँदैछ ।
दिवसको अवसरमा आज नेपाली कांग्रेस र कांग्रेसका भात्रृ एवं शुभेच्छुक संस्थाले विभिन्न कार्यक्रम गर्दैछन् ।
२०३३ साल पुस १६ मा नेपाली कांग्रेसका संस्थापक नेतासमेत हरेका बीपी कोइरालाको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेत्री शैलजा आचार्यलगायत नेता÷कार्यकर्ता राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई झण्डै आठ वर्ष लामो निर्वासित जीवन त्याग गरी स्वदेश फर्किएका थिए ।
भारत निर्वासनमा रहँदा सिक्किम भारतमा विलय भएको घटना नजिकबाट देखेका कोइरालासहितका नेताले राष्ट्रियता एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्किएका थिए ।
२०१७ साल पुस १ मा तत्कालीन राजा महेन्द्रको शाही ‘कु’ पछि प्रथम जननिर्वाचित प्रधानमन्त्री कोइरालालाई झण्डै तीन महिना सिंहदरबारमा बन्दी बनाइएको थियो ।
त्यही वर्ष फागुन २६ गते सुन्दरीजल बन्दी गृहमा स्थानान्तरण गरिएको थियो । आठ वर्षपछि २०२५ सालमा उपचारका लागि बीपीलाई रिहा गरिएको थियो ।
रिहापछि उपचारका लागि भारत पुगेका कोइरालाले त्यहाँ निरङ्कुश पञ्चायती व्यवस्थाविरुद्ध राजनीतिक क्रियाकलाप शुरू गरेका थिए ।
त्यसबेला भारतले सिक्किमलाई गाभेको, भारतबाट पाकिस्तान अलग्गिएको र एशियाका अन्य देशमा पनि विखण्डन शुरू भएको देखेर राष्ट्रियता कमजोर हुन नदिन राष्ट्रिय मेलमिलाप तथा एकताको नीति लिइ ४९ वर्षअघि आजैका दिन उनीलगायत नेता नेपाल फर्किएका हुन् ।
तर त्रिभुवन विमानस्थलमा ओर्लिनेबित्तिकै कोइराला, नेता गणेशमान सिंहलगायतलाई फेरि सुन्दरीजलमा लगेर बन्दी बनाइएको थियो ।
२०३४ साल जेठ २७ गते मिति खाली राखी उपचारपछि फिर्ता भई कारागारमा फर्कने गरी बीपी कोइरालालाई रिहा गरिएको थियो ।
प्रकाशित मिति २०८१ पुस १६ गते मंगलबार ०९:१२




