२०८३ साउन २१ गते बिहीबार

श्रमदाताले श्रमिकलाई अन्धाधुन्ध जगेडामा राख्ने काम गरेः अध्यक्ष कुवँर

श्रमदाताले श्रमिकलाई अन्धाधुन्ध जगेडामा राख्ने काम गरेः अध्यक्ष कुवँर

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ पुस १६ गते मंगलबार ०२:४५

उनले भने, ‘श्रम तथा रोजगारलाई व्यवस्थित गर्न श्रमको सम्मान राष्ट्रको अभियान सम्बन्धि रणनीति, राष्ट्रिय व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य नीति, राष्ट्रिय रोजगार नीति र वैदेशिक रोजगार नीति कार्यान्वयनको चरणमा रहेका छन् ।

काठमाडौं ।

संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) का अध्यक्ष योगेन्द्रकुमार कुवँरले श्रम बजारसम्बन्धी जुम्ल्याहा कानून ल्याउँदा श्रमदाताहरुले श्रम लचकताको गलत फाइदा उठाएको बताएका छन् ।

मंगलवार काठमाडौंमा संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) को छैटौं श्रम संसदको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष कुवँरले सरकारले जति बढी सामाजिक सुरक्षा त्यति नै श्रममा लचकता भन्दै जुम्ल्याहा कानून ल्याउँदा श्रम बजार समस्याग्रस्त भएको बताएका हुन् ।

उनले श्रमदाताहरुले श्रम लचकताको गलत फाइदा उठाएर श्रमिकहरुलाई अन्धाधुन्ध जगेडामा राख्ने काम गरिरहेको टिप्प्णी गरे । उनले संविधान बमोजिम श्रम बजारको लागि नीतिगत र कानूनी संरचनाहरु तयार भएपनि आम श्रमिकले त्यसको अनुभुति गर्न नपाएको उल्लेख गरे ।

श्रम बजार अझै कमजोर, अव्यवस्थित, असुरक्षित र अमर्यादित तथा अनौपचारिकरण हुँदै गइरहेको महशुस हुन थालेको अध्यक्ष कुवँरको भनाइ थियो । उनले श्रम बजारलाई औपचारिकरण गर्न श्रम ऐन परिमार्जन र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन निर्माण गरी कार्यान्वयनमा ल्याउन माग समेत गरे ।

उनले भने, ‘श्रम तथा रोजगारलाई व्यवस्थित गर्न श्रमको सम्मान राष्ट्रको अभियान सम्बन्धि रणनीति, राष्ट्रिय व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य नीति, राष्ट्रिय रोजगार नीति र वैदेशिक रोजगार नीति कार्यान्वयनको चरणमा रहेका छन् । श्रम ऐन, २०७४ लगायतका ऐन र हकहरु कार्यान्वयनमा रहेका छन् । यसका अलवा हामीसँग विभिन्न नियमावली तथा मापदण्डहरु लागू भएका छन् । उल्लेखित श्रम नीति, ऐन तथा कानून र मापदण्डहरु योजनावद्ध कार्यान्वयन गर्न बालश्रम निवारण, व्यवसाय र मानव अधिकार प्रवर्धन र व्यवसायजन्य सुरक्षाको सुदृढिकरणका लागि विभिन्न रणनीतिक योजनाहरु क्रियाशील छन् । श्रम तथा पुँजी बजारलाई औपचारिकरण गर्न औपचारिकरण रणनीतिको तयारी भइरहेको छ । कानूनले द्विपक्षीय, त्रिपक्षीय संयन्त्रको व्यवस्था गरेको छ । यद्धपी नीति, कानून, योजना र संरचनाहरुलाई दृष्टिगत गर्दा श्रम रोजगारी र सामाजिक सुरक्षाको क्षेत्रमा हामीले धेरै नै उपलब्धी हासिल गरेका छौं । संविधान बमोजिम नीतिगत र कानूनी संरचनाहरु तयार भएका छन् । तर यसको अनुभुति आम श्रमिकले गर्न पाइरहेका छैनन् । श्रम बजार अझै कमजोर, अव्यवस्थित असुरक्षित र अमर्यादित तथा अनौपचारिक हुँदै गइरहेको हामीले महशुस गरेका छौं । श्रम बजारलाई ओपचारिकरण गर्ने क्रममा श्रम ऐन परिमार्जन र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन निर्माण गरी कार्यान्वयनमा ल्याउँ । जति नै बढी सामाजिक सुरक्षा त्यति नै श्रममा लचकता भन्दै जुम्ल्याहा कानून ल्यायौं । अधिकांश रोजगार दाताहरुले श्रम लचकताको गलत फाइदा उठाएर श्रमिकहरुलाई अन्धाधुन्ध जगेडामा राख्ने, सरुवा गर्ने, निष्कासन गर्ने र नियमित रोजगारीलाई आउट सोर्सिङ गर्ने काम गरिरहनुभएको छ ।’

उनले बालश्रम निवारण, व्यवसाय र मानव अधिकार प्रवद्र्धन र व्यवसायजन्य सुरक्षाको सुदृढिकरणका लागि विभिन्न रणनीतिक योजनहरु क्रियाशील भएपनि त्यसको प्रभाव श्रम बजारमा पर्न नसकेको जिकिर गरे ।

प्रकाशित मिति २०८१ पुस १६ गते मंगलबार ०२:४५

हजुरको प्रतिक्रिया