२०८३ साउन २१ गते बिहीबार

निकुञ्जबीचमा रहेका जनताले भोगेका समस्या समाधानका लागि कानून नै बाधकः वनमन्त्री ठकुरी

निकुञ्जबीचमा रहेका जनताले भोगेका समस्या समाधानका लागि कानून नै बाधकः वनमन्त्री ठकुरी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ पुस १८ गते बिहीबार ०५:११

मध्यवर्ती क्षेत्र र राष्ट्रिय निकुञ्जको बीचमा रहेका जनताले न्याय पाउनेगरी ऐन ल्याउन जरुरी रहेको उनको भनाइ थियो ।

काठमाडौं ।

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले मध्यवर्ती क्षेत्र र राष्ट्रिय निकुञ्जको बीचमा रहेका जनताले भोग्दै आएका समस्या समाधानका लागि कानून बाधक बनेको बताएका छन् ।

बिहीवार कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि मन्त्रालयगत छलफलमा सहभागि मन्त्री ठकुरीले मध्यवर्ती र निकुञ्ज क्षेत्रका समस्याहरु समाधान हुनेगरी संशोधन गरिनुपर्ने बताएका हुन् ।

उनले आफू मन्त्री भएर आएदेखि नै यस क्षेत्रका समस्या समाधानमा केन्द्रित रहेको भएपनि कानूनी समस्या र राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति बाधक बनिरहेको बताए । उनले कानूनमा कँही पनि निकुञ्ज र मध्यवर्ती क्षेत्रको बीचमा रहेका जनताका समस्याहरु समावेश नगरिएको स्पष्ट पारे ।

मध्यवर्ती क्षेत्र र राष्ट्रिय निकुञ्जको बीचमा रहेका जनताले न्याय पाउनेगरी ऐन ल्याउन जरुरी रहेको उनको भनाइ थियो ।

उनले भने, ‘मध्यवर्ती क्षेत्र र राष्ट्रिय निकुञ्जको बीचमा जनताले पाएको दुःख, जनताले पाएको पीडा र भोग्नुपरेका समस्याहरुबारेमा म पनि पूर्ण रुपमा अवगत नै छु । मैले प्रष्ट देखेको पनि छु । हामीले संसदमा यो कुराहरु उठाउँदै आएका पनि छौं । मन्त्रालयको जिम्मेवारी सम्हालेको शुरुको दिनदेखि नै यसमा हाम्रो ध्यान केन्द्रित हुँदै आइरहेको छ । यसलाई कसरी सरल र सहज बनाउन सकिन्छ भनेर हामीले मन्त्रालयका सचिवज्यु लगायत छलफल गरि राखेका छौं । यसमा कानूनी समस्या र राष्ट्रिय अन्तरराष्ट्रिय परिस्थिति पनि छन् । अन्तर्राष्ट्रिय कुराहरुलाई पनि हामीले ध्यानमा राख्दै र हाम्रा समस्याहरुलाई पनि समाधान गर्नको लागि हामीले हाम्रो एउटा बीचको बाटो खोज्नुपर्ने हुन्छ । यो समस्याहरु कतै पनि उल्लेख गरेको पाइँदैन । एउटा भूमि ऐनमा उल्लेख भएको रहेछ । यो ऐनमा लेखिएको कुराहरु कसरि मिलाउन सकिन्छ । यस संशोधनको माध्यमबाट यस समस्याहरुलाई सरल बनाउनका लागि वन तथा वातावरण मन्त्रालयले हदैसम्मको लचकता र हदैसम्मको प्रयास गर्नुपर्छ भन्ने मेरो धारणा छ ।’

बैठकमा बोल्दै कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले कानूनमा मध्यवर्ती क्षेत्र र संरक्षित क्षेत्रको परिभाषा प्रष्ट नभएको कारणले आम नागरिकलाई समस्या भएको बताएका छन् । उनले वन मन्त्रालयले ल्याउन लागेको ऐनमा यी समस्याहरुलाई समाधान गर्नेगरी ऐन ल्याउनुपर्ने जोड दिए ।

कानून मन्त्रालय र वन मन्त्रालयले छलफल गरेर जनताले वनको उपभोग गर्ने र वन पनि नमासिने गरि ऐन ऐन ल्याउने मन्त्री चौरसियाले प्रतिवद्धता व्यक्त गरे ।

मन्त्री चौरसियाले भने, ‘मध्यवर्ती क्षेत्र र संरक्षित क्षेत्रको परिभाषा प्रष्ट नभएको कारणले आम नागरिकलाई ग्राहो भयो भन्ने सांसदज्युहरुको जिज्ञासा हो । अब वन मन्त्रालयको ऐन आउँदैछ हामी त्यसमा मिलाएर ल्याउँछौं । यस विषयमा वन मन्त्रालयसँग छलफल गरेपछि माननीय सांसदज्युहरुसँग पनि अनौपचारिक छलफल गरेर यसलाई कसरी ल्याउँदाखेरि वन पनि नमासिने र त्यो एरियामा बसोवास गरेका जनातालाई पनि सहज हुनेगरी ल्याउनुपर्छ । त्यहाँ अहिले आएर बसेका त कोही पनि छैनन् । १०÷१५ वर्ष पहिलेदेखि आएर बस्दै आउनुभएको छ । तिनीहरुलाई कसरी व्यवस्थापन गर्दाखेरी बनको पनि कम मात्र क्षति हुने र आम नागरिकलाई वनको उपभोग गर्दाखेरि गरि ऐन ल्याउन आवश्यक छ ।’

बैठकमा अधिकांस सांसदहरुले प्रकृतिको संरक्षण गर्दै वनक्षेत्रमा रहेका नागरिकको उचित व्यवस्थापनमा सरकारले ध्यान दिनुपर्नेमा जोड दिए । समितिले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि मन्त्रालयगत छलफल गरिरहेको छ । आज उक्त विधेयकमाथि वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल गरिएको हो ।

प्रकाशित मिति २०८१ पुस १८ गते बिहीबार ०५:११

हजुरको प्रतिक्रिया